विराटनगर, १६ कात्तिक : आइसीसी टि–२० विश्वकप छनौट खेलमा नेपालले अन्तिम ओभरको रोमाञ्चक संघर्षका वावजुद ओमानसँग ५ रनले पराजित हुनुपरेको छ । समुह चरणको सेमिफाइनलका लागि अब नेपालले युएईसँग खेल्नुपर्ने भएको छ ।
मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालका लागि तयार भएको सहज लक्ष्य पनि कठिन बनेको थियो । अन्तिम ओभरमा विवेक यादवको बिस्फोट ब्याटिङले आशा जागिसकेको जीतको सपना ओमानसँग धरासायी बन्न पुग्यो । नेपाल समूह ए को उपविजेता बन्न पुग्यो ।
कीर्तिपरस्थित त्रिवी क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्रै जोड्न सक्यो । अन्तिम ओभरमा आवश्यक २६ रनका लागि यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम गराएका थिए । तर उनी चौथो बलमा क्याच आउट बने ।
नेपाललाई अन्तिम बलमा आवश्यक ६ रनका लागि करण केसी प्रयास पनि क्याच भएपछि नेपालको समुह विजेताको सपना टुट्न पुग्यो । नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्कासहित ३९ रनको योगदान गरे । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन जोडेका थिए ।
आश्यर्चजनक रुपमा तेस्रो क्रममा ल्याइएका सोमपाल कामी १२ रनमा आउट बने । त्यस्तै कप्तान रोहित पौडेल र सन्दीप जोराले पनि १२–१२ रन बनाएका थिए । कुशल मल्लले १० रन बनाएपनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रनको योगदान गरेका थिए । ओमानका लागि पनि अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न नसकेपछि नेपाल लक्ष्य पछ्याउन सक्ने अवस्थामा देखिएको थियो ।
करण केसीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट हात पार्दै ओमानलाई खेलमा दवावमा राखेका थिए । गुल्शन झा र अविनाश बोहोराले पनि थप एक-एक विकेट योगदान गरेका थिए ।
View : 107
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved