Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

समाजसेवी गौतमद्वारा क्यान्सर पीडित र विद्यार्थीलाई सहयोग

उद्‌घोष संवाददाता
४ जेठ २०८३, सोमवार

विराटनगर । विराटनगर–४ का समाजसेवी श्रीप्रसाद गौतमले आफ्ना आमाबाबुको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट क्यान्सर पीडित र जेहेन्दार विद्यार्थीहरूलाई नगद सहयोग गरेका छन् । 

गौतम सेवा समितिद्वारा आइतबार ज्योति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उनीहरूलाई सम्मानपत्र र समाजसेवी गौतमले नगद हस्तान्तरण गरेका हुन् ।

भवनाथ बालकुमारी जोगमाया स्मृति अक्षय कोषका तर्फबाट क्यान्सर रोग पीडितहरू सुन्दरहरैंचा–३ की मन्जु गौतम र धनकुटा–६ ताप्ले खाल्डेकी बालकुमारी खड्कालाई जनही ११ हजार १११ रुपैयाँ नगद र आरोग्यपत्र प्रदान गरिएको हो ।

उनीहरूको उपचारका सहयोग पुगोस् भनेर नगद प्रदान गरिएको समाजसेवी गौतमले बताए ।

सोही अवसरमा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने बुढीगंगा गाउँपालिका–१ स्थित नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीहरू शंकर चौहान र सन्ध्या लिम्बूलाई जनही ५ हजार ५०५ रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी विराटनगर–४ स्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरू निरज ऋषिदेव र सलिना ऋषिदेवलाई पनि जनही ५ हजार १०१ रुपैयाँ नगद प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले जनप्रतिनिधिहरूले दिनरात नभनी निरन्तर जनताको सेवामा समर्पित हुनुपर्ने बताए । आफूले जहिल्यै पनि सेवाभावका साथ काम गर्ने गरेको दाबी गरे । 

समाजमा रहेका परोपकारी भावना भएका व्यक्तिहरूबाट प्रदान हुने सहयोगले भावी पुस्ताका लागि सेवाप्रतिको भाव जगाउने विश्वास लिएको मन्त्री पराजुलीले बताए । 

कार्यक्रममा मानगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लालमणि भट्टराई, ज्योति आविका प्रधानाध्यापक वेदनिधी भट्टराई, गौतम सेवा समाजका महासचिव विशाल कुमार गौतम, स्थानीय समाजसेवी कन्नुलाल चौधरी लगायतले समाजसेवी श्रीप्रसाद गौतमले विगतदेखि नै समाजमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved