सुनसरी । होटल व्यवसायी संघ इटहरीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । संघमा आबद्ध उपाध्यक्ष र कोषाध्यक्षसहित केही असन्तुष्ट पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन पराजुलीले विधान बिपरित नियुक्त गरेका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्यायले मनोमानी गरेको आरोप लगाएका छन् ।
पराजुली इटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि उनले विधानत उपाध्यक्ष प्रकाश महतोलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिइ उपाध्यायलाई दिएपछि मनोमानी सुरू भएको उनीहरूको आरोप छ ।
इलामको श्रीअन्तुमा ब्यवसाय गर्दै आएका उपाध्यायको इटहरीमा कुनै होटल ब्यवसाय नभएको र उनलाई पराजुलीले कार्यबाहकको जिम्मेवारी दिएर पुनः विधान बिपरित अहिले महासचिवको जिम्मेवारी दिएको असन्तुष्ट पक्षको भनाई छ ।
महासचिव उपाध्यायले गत चैत्र २७ गते उपाध्यक्ष महतो, कोषाध्यक्ष बाबुराम गिरी र सदस्य कृष्ण पराजुलीलाई संघबाट निष्काशन गरेका थिए । विधान विपरित अध्यक्ष पराजुली र महासचिव उपाध्यायले पदाधिकारीलाई कार्वाही गर्दै संघबाट निष्काशन गरेकाले आफूहरू बिरोधमा उत्रिएको असन्तुष्ट पक्षले जनाएका छन् ।
होटल व्यवसायी संघ इटहरीको अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आवश्यक उपस्थिति संख्या (कोरम) नपुगेको साधारणसभाबाट विधान संशोधनको हवाला दिंदै कुनै पनि स्पष्टिकरणको मौकासमेत नदिइ पदमुक्त गरिएको उपाध्यक्ष महतोले बताए । महतो लगायतका पदाधिकारीले संस्थाको साधारणसभा, वनभोज जस्ता कार्यक्रम गर्दा विभिन्न मदिराजन्य पदार्थ उत्पादन/विक्री गर्ने कम्पनीबाट लिएको सहयोग र आम्दानी आयव्ययमा प्रस्तुत नगरी हिनामिना गरेको समेत आरोप लगाएका छन् ।
पराजुलीले अध्यक्षको अघिल्लो कार्यकालमा नै नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालको सहयोगमा सञ्चालित तालिम कार्यक्रम नाम मात्रैको स्वरूपमा आफ्नै होटलमा सञ्चालन गरी विल मिलाई संस्थाको खातामा जम्मा हुनुपर्ने रकम आˆनै होटलको खातामा जम्मा गरी संस्थालाई आर्थिक हानी नोक्सानी पुर्याएकोले आन्दोलित बन्नुपरेको बताएका छन् ।
पराजुली र उपाध्ययले संस्थाको लेटरप्याडमा विधानमा व्यवस्था भएको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य हुने व्यवस्था बाहेक अनेक पद क्रियाशील गराएर विधान बिपरित काम गरेको होटल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका निवर्तमान अध्यक्ष मणिन्द्रबहादुर कटुवालले बताए । आफ्नै कार्यकालमा बनेको विधानलाई तोडमोड गरेर गैरकानूनी गतिबिधि हुनु दुखद भएको कटुवालको भनाइ छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले उपाध्यायले मनोमानी रूपमा जथाभावी गर्दै हिंडेपछि असन्तुष्ट पक्ष आन्दोलित हुनु स्वाभाविक भएको बताए । इटहरीमा साना तथा ठुला गरी ३ सय बढी होटल छन् ।
View : 292
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved