Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशी प्रदेशको आर्थिक पार्श्वचित्र सार्वजनिक

उद्घोष सम्वाददाता
३ पुष २०८०, मङ्गलवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले तयार पारेको आर्थिक क्षेत्रको पार्श्वचित्र सार्वजनिक गरिएको छ । कोशी प्रदेशमा लगानीको सम्भाव्यताबारे लगानीकर्ताहरुलाई आवश्यक परेको समयमा तथ्यांकीय अनुभव र आर्थिक क्षेत्रको सूचनाको उपलब्धताका लागि महासंघले आर्थिक एवं व्यावसायिक पार्श्वचित्र तयार गरी प्रकाशन गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले संयुक्त रुपमा पार्श्वचित्र सार्वजनिक गरेका हुन् ।

पार्श्वचित्र सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले सरकार र निजी क्षेत्रलाई एउटै शरीरको अंकका रुपमा बुझ्नुपर्ने बताए । उनले सरकारलाई निजी क्षेत्रभन्दा अलग राख्न नहुने बताए । प्रदेशको समृद्धिका लागि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तयार पारेको आर्थिक क्षेत्रको पार्श्वचित्र सँधै प्रयोग गर्न मिल्ने सम्पत्तिका रुपमा रहेको भनाइ राखे ।

सरकारले प्रदेशका जनताको समृद्धिको सपना देखेकाले कुनै पनि ऐन कानुनलाई देखाएर आर्थिक क्षेत्रको विकासको काम नरोकिने प्रतिबद्धता उनले जनाए ।

‘सरकार र निजी क्षेत्र एकै अंग हुन्, प्रदेशको समृद्धिको लागि सम्पतिका रुपमा पार्श्वचित्र प्राप्त भएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘जनताको समृद्धिको चाहनालाई ऐन नियमले रोकिंदैन । सरकारलाई अध्यादेश ल्याएर पनि कानुनी बाटो फुकाउने सुविधा छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले प्रदेशको आर्थिक क्षेत्रको विकासका लागि एकद्वार नीति आवश्यक रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले महासंघले तयार पारेको पार्श्वचित्रले प्रदेशको आर्थिक क्षेत्रको आधार तयार पारेको बताए । प्रदेशको प्रथम आवधिक योजनाको अन्तिम वर्ष र दोस्रो आवधिक योजनाको आधार तयार गर्ने समयमा आर्थिक क्षेत्रको तथ्यांक प्राप्त हुनु महत्त्वपूर्ण कार्य भएको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारले लगानी सम्मेलन गर्ने प्रयास गरिरहेको अवस्थामा त्यसलाई पार्श्वचित्रले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

आर्थिक र व्यवसायिक तथ्यांक संकलन र व्यवस्थापनको कार्य अपेक्षा गरिएभन्दा धेरै जटिल र चुनौतीपूर्ण भएको भन्दै उनले त्यसका बाबजुद आर्थिक तथा सम्बन्धित अन्य क्षेत्रको तथ्यांक सकेसम्म धेरै समेटेर पार्श्वचित्र तयार पारिएको जानकारी दिए ।

महासंघले तयार पारेको पार्श्वचित्रमा कोशी प्रदेशको भूगोल र पर्यावरण, जनसांख्यिक झलक, आर्थिक सामाजिक अवस्था, जिल्लागत रुपमा उद्योग व्यवसायको अवस्था र प्रकृति, उत्पादनको बजार, पर्यटकीय गन्तव्य तथा सेवाहरु, कृषि उत्पादन, कृषि संकलन केन्द्र, खुद्रा तथा थोक बजारहरू, उद्योगहरुले प्रयोग गर्ने ऊर्जा, कच्चा पदार्थको स्रोत, श्रमिक संरचना लगायतका विषयलाई तथ्यांकीय रुपमा प्रस्तुत गरिएको जनाइएको छ ।  

महासंघले प्रदेशको आर्थिक क्षेत्रको तथ्यांकलाई ‘रियलटाइम’ अद्यावधिक गर्ने व्यवस्थाका लागि कोशी प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको अध्यक्ष राउतले बताए ।

कोशी प्रदेशमा ९.५ प्रतिशत परिवार घरेलु उद्योग व्यवसायमा संलग्न रहेको र त्यसमध्ये महिला ५३.५ र पुरुष सहभागिता ४६.५ प्रतिशत रहेको पार्श्वचित्रमा उल्लेख छ ।

कोशी प्रदेशमा कृषिमा ६२.७, व्यापारमा ११, निर्माणमा ९ र औद्योगिक उत्पादनमा ४.१ र अन्य सेवामा २.८ प्रतिशत जनसंख्या संलग्न रहेको उल्लेख छ । साथै कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको योगदान करिब १५.१६ प्रतिशत र नेपालको कृषि अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पनि कोशी प्रदेशकै २१.७ प्रतिशत रहेको जनाइएको छ ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, भिरक एण्ड कम्पनीका डा. आशिष भट्टराई, लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, योजना आयोगका पूर्व अध्यक्ष डा जगदीशचन्द्र पोखरेल लगायतले शुभकामना दिएका थिए ।

View : 235

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved