विराटनगर । आफ्ना उटपट्याङ हर्कत र अभिव्यक्तिका कारण निरन्तर विवाद र चर्चाको पात्र बनिरहने धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोधी गतिविधि जारी राखेका छन् ।
मुलुककै ठूलो स्वास्थ्य प्रतिष्ठान मध्येमा पर्ने बीपी प्रतिष्ठानलाई कज्याउने ध्येय पूरा नभएपछि अनेक बहानामा प्रतिष्ठान विरोधी गतिविधिमा उनी लागेको आरोप छ । यही क्रममा उनले उपमहानगरको जग्गा प्रतिष्ठानले हडपेको आरोपमा उत्रिएका छन् ।
यसअघि बारम्बार बीपी प्रतिष्ठानको स्वामित्व धरान उपमहानगरलाई दिनुपर्ने भन्दै आएका उनले प्रतिष्ठान र त्यसको नेतृत्वलाई कज्याउन नपाएकै कारण ‘अन्टसन्ट’ अभिव्यक्ति दिने गरेको बीपीकै एक पदाधिकारी बताउँछन् ।
‘मेयर साबको इच्छा यहाँको भीसीदेखि सबै पदाधिकारीलाई आफैले काम अह्राउन पाइयोस्, उनीहरुको सरुवा–बढुवासम्म आफ्नो एकल निर्णय होस् भन्ने रहेछ, उहाँले बारम्बार यो कुरा भन्दै आउनुभएको छ’, ती पदाधिकारी भन्छन् ‘उहाँको व्यक्तिगत इच्छाले होइन प्रतिष्ठान आफ्नै नियमले चल्छ । उहाँले यस्ता अभिव्यक्ति दिइरहनु हुन्छ । त्यसलाई धेरै ख्याल पनि गरिन्न ।’
बीपी प्रतिष्ठान उपमहानगरलाई हस्तान्तरण गर्न भन्दै फेसबुकमा निरन्तर लेख्दै र सार्वजनिक मञ्चहरुमा बोल्दै पनि आएका मेयर साम्पाङले यसपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मर्यादाहीन भाषा र शैलीमा पत्र लेखेर प्रतिष्ठानले जग्गा हडपेको आरोप लगाएका छन् ।
उपमहानगरले आफै अस्पताल बनाउन लागेको र त्यसका लागि प्रतिष्ठानले ‘हडपेको जग्गा फिर्ता गराइदिन’ भन्दै मेयरले मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले त्यो पत्र मन्त्रालयमा पठाए कि सामाजिक सञ्जालमा मात्रै राखे भन्ने चाहिं यकिन छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उनले लेखेको पत्रमा भनेका छन् ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ ।
छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिं कुलङ्गारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन । यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला ।’
उपमहानगरको मेयरकै लेटरहेड प्रयोग गरिएको पत्रमा यस्तो मर्यादाहीन शैलीमा उनले पत्र लेखेको यो पहिलोपटक भने होइन ।
यसअघि विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक अंगलाई पत्र लेख्दा पनि उनले यस्तै शैली अपनाएका थिए ।
सामाजिक सञ्जालका केही प्रयोगकर्ताले प्रशंसा गरिदिएपछि झनै उत्साही बनेका साम्पाङले निरन्तर यस्तै शैलीमा पत्र व्यवहार गर्दै आएका छन् ।
उपमहानगरले आफ्नै अस्पताल बनाउने भन्दै मेयरले लगातार भनिरहेका छन् । उनले जहाँ नगर अस्पताल बनाउने भन्दैछन् त्यहाँको जग्गा भने ३४ वर्षदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा छ ।
साम्पाङले फिर्ता मागेको जग्गा उपमहानगरको होइन । स्थापनाकालमै त्यो जग्गा प्रतिष्ठानको नाममा दर्ता भएको थियो ।
उपचार र मेडिकल शिक्षा दुवैका लागि बीपी प्रतिष्ठान मुलुकमै अब्बल मानिन्छ ।
‘सञ्चालनका क्रममा त्रुटी र कमजोरीहरु नभएका होइनन् छन् तर यसको अर्थ प्रतिष्ठानलाई बद्नाम गर्न मेयर स्वयम् लाग्नु आपत्तिजनक कुरा हो’ प्रतिष्ठानका पदाधिकारीहरुको भनाइ छ ‘उहाँ त आफै पनि सिनेट मेम्बर हो ।
त्यस हिसाबले प्रतिष्ठानलाई अझै राम्रो बनाउन लाग्नुपर्ने हो । तर, यति भव्य र दक्षिण एशियाकै प्रतिष्ठित प्रतिष्ठानविरुद्ध मेयर लागिरहनु उहाँको ठूलो कमजोरी हो ।’
कतिसम्म भने मेयर साम्पाङ ‘बीपी प्रतिष्ठानले लगेको जग्गा फिर्ता माग्दै आन्दोलन गर्नुपर्ने’ समेत भनिरहेका छन् । उनले फेसबुकमा लेखेका थिए ‘भोलिदेखि बीपी अस्पतालले हाम्रो पुरानो अस्पताल आफ्नो नाममा जग्गा सुटुक्कै लगेको विरुद्ध प्रदर्शन गर्दै जग्गा फिर्ता गर्न दबाव दिऔं, नगर अस्पताल खोल्नु परो के हाम्ले पनि ।’
धरानमा भएको यति ठूलो अस्पताल र मेडिकल कलेजलाई उपमहानगरको गौरव बनाउने दिशामा मेयर नलागेको बरु उटपट्याङ बोलेर प्रतिष्ठानविरुद्ध लागेको भन्दै प्रतिष्ठानभित्र मेयरप्रति तीव्र असन्तोष रहेको चिकित्सकहरु बताउँछन् ।
‘मेयरलाई सम्झाउन सकिने अवस्था हुन्न, उनी आफ्ना अरिङ्गाल जस्ता समर्थकको बलमा मुर्खतापूर्ण अभिव्यक्ति दिनै व्यस्त हुन्छन्’, एक चिकित्सकले भने ‘अहिले हामी उहाँलाई धेरै ध्यान दिंदैनौं ।’
त्यसो त जतिबेला साम्पाङ अभियन्ता मात्रै थिए, त्यसबेला उनी प्रतिष्ठानको सुधारका लागि आवाज उठाउनेहरु मध्येमा पर्थे ।
२०७९ को स्थानीय चुनावको मुखैमा धरानमा बीपी प्रतिष्ठान सुधारका लागि भन्दै जनस्तरबाटै लामो समयसम्म प्रदर्शन भएको थियो । त्यसमा उनको पनि सक्रिय सहभागिता थियो । उनको मत बढाउन त्यो आन्दोलनले पनि सहयोग गरेको थियो ।
तर, पदमा पुगेपछि भने उनले प्रतिष्ठानविरुद्ध निरन्तर अभिव्यक्ति दिंदै आएका छन् । मेयरले लगातार आक्रमण गर्न थालेपछि बीपी प्रतिष्ठानले विज्ञप्ति निकालेरै असन्तुष्टि जनाएको छ ।
‘धरान छाताचोक स्थित पुरानो अस्पताल तथा स्वयं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पति भएको तथ्य अवगत गराइन्छ’, प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिष्ठान स्थापना भए पश्चात तत्कालीन श्री ५ को सरकारको मिति २०४८–१०–०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ अनुसार सञ्चालन भएको प्रतिष्ठान स्थापना भएपछि त्यो जग्गा प्रतिष्ठानको नाममा नामसारी भएको थियो ।
प्रतिष्ठानले पुरानो धरान अस्पतालमा ओपीडी सेवा सञ्चालन गरेको थियो । तर सेवाग्राहीले प्रतिष्ठानमै सेवा लिन आउन चाहेका कारण ओपीडी बन्द गरेको थियो ।
‘विधि र प्रक्रियासम्मत प्रतिष्ठानको लागि भविष्यमा सेवा विस्तार गर्ने लक्ष्य अनुरूप भोगाधिकार दिई प्रतिष्ठानको नाममा नामसारी भएको कुरालाई धरान उपमहानगरपालिकाको प्रमुख जस्तो स्थानीय सरकार प्रमुखबाट ‘सुटुक्कै लगेको’, ‘हडपेको’ जस्ता शब्दावली प्रयोग हुदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह हुने हुँदा यस प्रकारले नबुझिदिन प्रतिष्ठान अनुरोध गर्दछ’ प्रतिष्ठानले भनेको छ ।
प्रतिष्ठानले पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आमधारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने पनि प्रतिष्ठानले जनाएको छ ।
View : 536
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved