विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पहिलेदेखि नै सत्ता र प्रतिपक्ष दुवैतिर जोडिने गरेको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा प्रधानमन्त्री दाहालले नेपालको उक्त गतिविधिलाई आफूले भने त्यति असहज नठानेको बताए ।
सत्ता गठबन्धनमै रहेको बेलामा माधव नेपाल बुधबारमात्रै काङ्ग्रेससहितको प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका थिए । उक्त घटनापछि गठबन्धनभित्र फेरी अप्ठ्यारो अवस्था उत्पन्न भएको चर्चा चलिरहेको बेलामा प्रधानमन्त्री दाहालले नेपालप्रति उक्त टिप्पणी गरेका हुन् ।
‘मैले त्यसलाई त्यति असहज ठानेको छैन, माधव जी अलिक अहिले पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिने जस्तो देखिएको त थियो’ प्रधानमन्त्री दाहालले भने, ‘तर अहिले बिहान मेरो कुरा हुँदाखेरि माधवजीले यो समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नु भएको छ ।’
दाहालले गठबन्धन अहिल्यै तोडिने अवस्था नरहेको बताए । गठबन्धनकै भावना अनुसार मधेस प्रदेशमा समेत अर्को सरकार निर्माण हुने दाबी गरे ।
‘मधेसमा पनि त्यस्तो हुँदैन, समीकरण बाहिर मधेसमा पनि अर्को बन्दैन’ उनले भने, ‘हाम्रो अहिलेको जे समीकरण छ त्यही अनुसारको सरकार बन्छ, माधवजीको त्यस्तो हुनसक्ने स्थिति छैन ।’
प्रधानमन्त्री दाहालले कोशी प्रदेशलाई बजेट विनियोजन गर्दा कम दिएको भन्ने कुरा बिल्कुल गलत प्रचार भएको बताए । प्रदेशको आवश्यकता र परिस्थिति अनुसार पर्याप्त बजेट गएको दाबी गरे ।
‘कोशीले अलिक कम भयो भनेर गलत प्रचार गर्न खोजिएको छ, यो सही होइन’ उनले भने, ‘बजेट वक्तव्यमा जति कुरा आएको छ त्यति मात्रै छैन । वक्तव्यमा आउने कुरा र बजेटमा व्यवस्था गर्ने कुरा अलिकति फरक हुँदोरहेछ, वक्तव्यमा सबै कुरा आएका हुँदैनन् ।’
उनले विराटनगर चक्रपथको कुरा र मेडिकल कलेजसँग सम्बन्धित कुरा वक्तव्यमा नआएपनि समेटिएको बताए ।
सरकारले आगामी आर्थिक वर्षदेखि कृषि दशक घोषणा गरेको र आइटीको क्षेत्रमा समेत नयाँ कुरा ल्याएको जानकारी दिए । अहिलेको राजनीतिक परिस्थिति अनुसार यो बजेट सन्तुलित रुपमा आएको उनले दाबी गरे ।
View : 186
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved