दुई जिल्लाका सशस्त्र प्रहरीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिंदै अतिरिक्त महानिरीक्षक ठाडा मगर । तस्वीर: उद्घोष
विराटनगर । सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक गणेश ठाडा मगरले सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीले कम्जोरी गरे निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेशमा आकस्मिक निरीक्षणका क्रममा उनले शनिबार बराह बाहिनी पकलीमा सशस्त्र प्रहरीका कार्यालय प्रमुखहरूलाई गल्ती गर्नेलाई निर्मम कारवाही गर्न निर्देशन दिएका हुन् ।
सीमावर्ति क्षेत्रमा हुने अपराध नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारीबाट कुनै पनि कम्जोरी हुन नहुने उनले बताए ।
सुनसरी र मोरङमा तैनाथ सशस्त्र प्रहरीका ४२ युनिटका प्रमुखहरूलाई उनले हालको संवेदनशील अवस्थामा सीमाको सुरक्षा अझ मजबुद बनाएर सुरक्षामा कडाइ गर्न निर्देशन दिए ।
शनिबारबाटै निरीक्षण सुरु गरेका मगरले सीमामा चोरी तस्करी, लागुऔषध, गैर कानुनी गतिबिधि रोक्न तथा बिपद ब्यवस्थापनमा दक्ष जनशक्ति प्रयोग गर्न समेत निर्देशन दिए ।
चोरी तस्करी नियन्त्रण गरेर राजश्व अभिवृद्धि गर्न उनले मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिंदै भएकै जनशक्तिलाई सही तरिकाले परिचालन गर्न सुझाव दिए ।
सशस्त्र प्रहरीले सीमावर्ति क्षेत्रमा तस्करसँग मिलेर गलत कार्यलाई प्रश्रय दिंदै आएका सादा पोशाकका सुरक्षाकर्मीलाई हाल धमाधम कारवाही गर्दै आएको छ ।
खासगरी झापा, मोरङ र सुनसरीसँग सीमा जोडिएका नाकाहरूबाट हुने गरेको चोरी तस्करीको गुनासो बढेपछि उनी निरीक्षणका लागि कोशी प्रदेश आएको बताइएको छ ।
यसअघि गृहमन्त्री सुधन गुरूङले निरीक्षणका क्रममा सीमावर्ति क्षेत्रमा हुने गरेका अपराधका बारेमा स्थानीयको गुनासो सुनेका थिए ।
सीमावर्ति क्षेत्रमा सशस्त्र प्रहरीको परिचालनको अवस्था र समस्याका बारेमा अतिरिक्त महानिरीक्षक ठाडा मगरले कार्यालय प्रमुखहरूसंग जानकारी लिएका छन् ।
वर्षायाममा हुने बाढीपहिरो र डुबानबाट सर्वसाधारणलाई सुरक्षित राख्न सशस्त्र प्रहरीले कोशी प्रदेशमा कति सम्भव छ भन्ने बारे जानकारी लिदै उनले उद्धार प्रभावकारी र छिटो छरितो हुनुपर्ने बताए ।
नेपाल–भारत तथा नेपाल–चीन सीमाको सुरक्षा र व्यवस्थापनमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्ती, अवैध ओहोरदोहोर नियन्त्रण, तस्करी रोकथाम, सीमा अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने कार्य गर्छ ।
आवश्यकता अनुसार भारतीय समकक्षी सुरक्षा निकायसँग समन्वय गरी संयुक्त गस्ती, सूचना आदान–प्रदान तथा सीमा अपराध नियन्त्रणका गतिविधि सञ्चालन गर्दै आएको छ ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved