विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरूको सुरक्षाका सवालबारे चासो व्यक्त गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफलमा आयोगका मानव अधिकार प्रवद्र्धन शाखाका अधिकृत दीपेन्द्रबहादुर सिंहले पत्रकारहरूको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
पत्रकारहरू पनि मानव अधिकार रक्षक नै भएकोले उनीहरूको सुरक्षाको सवाल महत्वपूर्ण रहेको सिंहले बताए ।
‘पत्रकारहरू पनि मानवअधिकार रक्षक हुन्, समाचार लेखेपछि उत्पन्न हुने सुरक्षा चुनौतिको सुनिश्चित हुनुपर्छ’ उनले भने, ‘अधिकार संरक्षकहरूको बारेमा आयोगले निरन्तर बोल्ने गर्दछ ।’
छलफलमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले समाचार लेखेकै कारण धाकधम्की आउने, कार्यक्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था अझैपनि कायमै रहेको बताए ।
उनले धरानका पत्रकार गोपाल दाहालमाथि त्यहाँका मेयर हर्क साम्पाङ र उनका समर्थकहरूबाट परिवारका सदस्यलाई समेत मानसिक तनाव पुग्ने गरी दिइएको धम्की, गालीगलौज र दुव्र्यवहारपूर्ण अभिव्यक्तिले पत्रकारहरूमाथिको सुरक्षा चुनौति कायमै रहेको पुष्टि भएको बताए ।
उनले कतिपय पत्रकारहरूले पनि पत्रकार आचारसंहिता विपरीत सामाजिक सञ्जालमा व्यक्ति केन्द्रित लान्छना र द्वेषपूर्ण अभिव्यक्ति दिने तथा व्यक्तिको चरित्रहत्या हुने गरी भिडियो सामग्रीको प्रयोग गर्ने गरेका कारण समस्या उत्पन्न हुने गरेको बताए । युट्युबरका कारण समेत पत्रकारिता क्षेत्र थप जोखिममा परेको अध्यक्ष खड्काले बताए ।
पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले महिला पत्रकारहरूमाथि थप सुरक्षा चुनौति रहेको बताइन् ।
उनले मिडियाभित्र हुने सेल्फसेन्सरशीपका कारण पनि कतिपय अवस्थामा पत्रकारहरू पीडित बन्ने गरेको बताइन् ।
आयोगले पत्रकारहरूको सुरक्षा अवस्थाबारे सातै प्रदेशमा चरणवद्ध रुपमा छलफल अघि बढाएको जनाएको छ ।
View : 38
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved