Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

घाँडो भयो एमालेलाई कारवाही र स्पष्टीकरण

कारवाहीको पत्र दिने कार्की स्वयं पनि आफ्नो बिबेकले भन्दा माथिल्लो कमिटीको दबाबमा परेर पत्र लेख्न बाध्य भएको बताउन थालेका छन् । स्रोतका अनुसार उनलाई कारवाहीको पत्र लेख्न बाध्य पार्नेमा अरु कोही नभएर पार्टीका जिल्ला इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतका केही नेताहरू हुन् ।
उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

विराटनगर । गैरजनप्रतिनिधिमूलक संस्था विराटनगरस्थित मानगढ खानेपानी आयोजना उपभोक्ता समितिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनेर गरिएको कारवाही र स्पष्टीकरण एमाले नेतृत्वलाई घाँडो भएको छ । 

कारवाहीको चौतर्फी विरोध भएपछि नेपथ्यबाट कारवाहीको पत्र लेख्न उक्साउने उपल्लो तहका नेताहरू यतिखेर पानीमाथि ओभानो बन्न थालेका छन् भने कारवाहीको पत्र लेख्ने पार्टी अध्यक्ष बाबुराम कार्की भने त्यसको औचित्य साबित गर्न नसकेर हैरान छन् । यस प्रकरणमा भर्खरै जेठ १८ गते मोरङ पार्टी अध्यक्ष मनोनित भएका कार्की पद वहाल गरेको १५ दिनमै विवादमा परेका छन् । 

कार्कीले गत जेठ ३१ गते पार्टीका महानगर कमिटी अध्यक्ष सागर थापालगायतलाई निलम्बनको पत्र थमाएका थिए । उत्तिकै समान हैसियतको कमिटीका अध्यक्षलाई कार्कीले कुन आँट र बलले निलम्बन गरे भन्ने आशंकाबीच कारवाहीको पत्र थमाइएको बताइन्छ । कार्की स्वयं पनि आफ्नो बिबेकले भन्दा माथिल्लो कमिटीको दबाबमा परेर पत्र लेख्न बाध्य भएको बताउन थालेका छन् । स्रोतका अनुसार उनलाई कारवाहीको पत्र लेख्न बाध्य पार्नेमा अरु कोही नभएर पार्टीका जिल्ला इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतका केही नेताहरू हुन् । 

मोरङ एमालेका पूर्वअध्यक्ष विनोद ढकालको शक्ति कमजोर पार्नका लागि के निहुँ पाउँ कनिका बुकाउँको शैलीमा थापालाई कारवाही गरिएको एमाले कार्यकर्ताहरू बताउँछन् । ‘नभए न कुनै संसदीय निर्वाचन, न कुनै सरकार बनाउने निर्वाचन, फगत खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टी सदस्यतासमेत निलम्बन गर्ने लज्जास्पद कार्य कसरी हुन्छ ?’ एमालेका एकजना कार्यकर्ता भन्छन्, ‘ढकाललाई कमजोर पार्ने वहानामा उनीनिकटलाई तर्साउने काम सुरु भएको छ ।’ उनका अनुसार, यो तर्साउने सिलसिला भने पार्टीको आउँदो जिल्ला अधिवेशन र महानगर अधिवेशन केन्द्रित छ । 

जति गर्दा पनि एमाले मोरङमा ढकालकै हालिमुहाली चल्ने छाँट देखिएपछि उनको शक्ति छिन्नभिन्न पार्न अहिले एमालेको एउटा संगठित शक्ति विभिन्न हत्कण्डा गर्न थालेको ढकालनिकट कार्यकर्ताको गुनासो छ । त्यसका लागि एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री कार्की, अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले विशेष योजना बनाउने गरेको स्रोतको दाबी छ ।

भानुझक्त ढकाल तिनै व्यत्ति हुन् जसलाई पूर्व आउँदा विनोद ढकालले प्रबन्ध गरेको साँझ–बिहानको खान्तेपिन्तेबिना अरु काममा जान साइत बन्दैन थियो । अंशका नभए पनि वंशका यी दाजुभाइबीच अहिले बोलचालसमेत हुन छाडेको बताइन्छ ।

कुनै बेला भानुभक्तलाई तेह्रथुमबाट तराई झारेर मोरङको क्षेत्र नं. ३ बाट निर्वाचन जिताउन विनोद ढकालले ठूलै गुन लगाएको बताउने धेरै छन् । तर लाभग्राही व्यक्तिले नै यो कुरा बिर्सिएपछि राजनीतिक मैदानमा यी दाजुभाइबीच भिडन्तको अवस्थामा रहेको बताइन्छ ।

पूर्वका यी दुई ढकाल, पूर्व झापाकै हिक्मतकुमार कार्की कुनै समय विद्यार्थी राजनीतिमा एउटै गुटका वफादार कार्यकर्ता थिए । यिनीहरूभन्दा निकै पछिका थिए– शेरधन राई । तर शेरधनले यी तीनैजनाभन्दा अघि मन्त्री, मुख्यमन्त्री भएर आफूलाई यिनीहरूकै हाराहारीको नेतामा स्थापित गरेका छन् । 

यी चार जना नेकपा एमाले विभाजन हुनुपूर्व एउटै गुटमा बसेर योजना बनाउने र काम गर्ने गर्थे । कसलाई कसरी माइनस गर्ने, कसलाई अगाडि बढाउने एउटै फर्मुलामा काम गरेका यी चार जनामा अहिले तीन जना एकातिर बाँकी विनोद ढकाल भित्तातिर हुत्तिएका छन् ।

ढकालनिकट एक कार्यकर्ता विनोद ढकाललाई नसिध्याइ आफूहरूको राजनीति अगाडि बढ्दैन भन्ने मनोविज्ञानले धेरैलाई एकै ठाउँमा ल्याएको दाबी गर्छन् । ‘ढकाल आफ्नै बलबुताले शक्ति र स्रोत परिचालन गर्ने व्यक्ति हुन्’ उनी भन्छन्, ‘उनी सहयोग गर्नुपर्दा मनैले गर्छन्, दोग्लागिरी गर्दैनन् ।’ 

यद्यपि ढकाललाई आफू अनुकूल हुँदा कार्यकर्ता परिचालनमा अब्बल तर आफू प्रतिकूल हुँदा गुट परिचालन गर्ने संकीर्ण व्यक्तिको रुपमा चित्रण गर्ने पनि प्रशस्तै छन् । कुनै बेलाका उनकै समूहका नेता, कार्यकर्ता ढकालको यो आनीबानी भलिभाँती जान्दछन् । पार्टीको कोशी प्रदेशको अधिवेशनमा पराजित भएका ढकालमाथि गुट परिचालन गरेर दुःख दिएको आरोप छ ।

यद्यपि ढकालले यो आरोप खारेजयोग्य भएको जिकिर गर्ने गरेको बताइन्छ । उनले आफूले कहिले गुट परिचालन नगरेको तर कार्यकर्ता चाहिँ संरक्षण गरेको भन्ने गरेका छन् ।

ढकालले स्थायी गुट चलाउँछन् भन्ने हिसाब लगाएर उनको शक्ति छिन्नभिन्न पार्न माथिदेखि तलसम्म एमालेको एउटा समूह परिचानल भएको ढकालनिकट कार्यकर्ताको दावी छ । अहिलेको अवस्थामा एमालेको संस्थापन पक्ष भन्ने समूहले नै ढकाललाई जसैगरी पनि कमजोर पार्नुपर्छ भनेर मिसन छेडेको ती कार्यकर्ताको भनाइ छ । कोशी प्रदेशमा संस्थापन पक्षको नेता भने प्रदेशकै मुख्यमन्त्री कार्कीले दावी गर्ने गरेका छन् ।

कार्की पार्टी अध्यक्ष केपी शर्मा ओलीको झापा निर्वाचन क्षेत्रका हुन् । उनी अहिले पार्टीको स्थायी कमिटी सदस्य छन् । कोशी प्रदेश सरकारको नेतृत्व गरेका कार्कीले ढकाललाई कमजोर बनाउन विभिन्न प्रयास गर्दै आएका छन् ।

गत वर्षको असोज १२–१३ मा भएको एमाले कोशी प्रदेशको अधिवेशनमा कार्कीले मन्त्रिमण्डल विस्तार गरेर अधिवेशन आफूअनुकूल बनाएका थिए । त्यतिखेरका अध्यक्षका उम्मेदवार ढकालको पक्षमा भोट नहाल्न कार्कीले विभिन्न व्यक्तिलाई सरकारी पद बाँड्ने, मतदाता कार्यकर्तालाई तर्साउने, धम्काउनेसम्मको कार्य गरेको ढकालनिकट कार्यकर्ताको गुनासो छ ।

यतिसम्म कि उनले त्यसबेलाको निर्वाचन समितिलाई आफूले भनेबमोजिमको समयमा मतदानको समय मिलाउन दबाबसमेत दिएको आरोप छ ।

View : 473

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved