विराटनगर । मोरङका १७ पालिका मध्ये कटहरी गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०८२-८३ को बजेट बजेट ल्याएको छ ।
कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रूपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार दोस्रो गाउँसभाको सातौं अधिवेशनमा पालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले सो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख २ हजार ५ सय रूपैयाँ र पूँजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रूपैयाँ छुट्याइएको छ ।
बजेटको मुख्य आय स्रोतहरूमा आन्तरिक आयबाट ९ करोड ८० लाख ७८ हजार ४ सय ८५ रूपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ८५ लाख ६ हजार रूपैयाँ र राजस्व बाँडफाँटबाट १३ करोड २५ लाख ६० हजार १५ रूपैयाँ आउने अनुमान गरिएको छ ।
कटहरी गाउँपालिकाले यो वर्षको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रमा २ करोड २८ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको छ जुन कृषकहरूको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सामाजिक सुरक्षा र कल्याण क्षेत्रमा ६ करोड ४९ लाख ४५ हजार ५ सय रूपैया छुट्याइएको छ । यो रकमले स्थानीय नागरिकहरूका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
पूर्वाधार क्षेत्रको विकासमा सबैभन्दा बढी १७ करोड ७३ लाख ५ हजार रूपैयाँ विनियोजन गरिएको छ । यो रकमले सडक, पुल, भवन निर्माण र अन्य पूर्वाधार विकास कार्यहरूमा प्रयोग हुनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ३ करोड २८ लाख रूपैयाँ र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्रमा २ करोड ७२ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
यो बजेटले स्थानीय नागरिकहरूको जीवनयात्रामा सकारात्मक प्रभाव पार्ने र गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको पालिकाकी उपाध्यक्ष राजवंशीले बताइन् ।
विशेषगरी कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गरिएको लगानीले स्थानीयवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिइएको उनको भनाइ छ ।
उपाध्यक्ष राजवंशीले यो बजेटले जनताका आवश्यकता र प्राथमिकतालाई दृष्टिगत गर्दै तयार गरिएको बताइन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय विकासका मुख्य क्षेत्रहरूलाई समेटिएको छ ।
१९२ बुँदे नीति तथा कार्यक्रमले गाउँपालिकाको समग्र विकासलाई लक्षित गरेको पालिकाले जनाएको छ ।
पूर्वाधार निर्माणदेखि मानव संशाधन विकाससम्मका सबै पक्षहरूलाई समेटेर तयार गरिएको यो नीति तथा कार्यक्रमले आगामी वर्षमा कटहरी गाउँपालिकाको विकास फेर्ने अपेक्षा गरिएको अध्यक्ष चौधरीले दाबी गरेका छन् ।
कटहरी गाउँपालिकाले दोस्रो गाउँसभा र सातौं अधिवेशनका अवसरमा कर्मचारी तथा शिक्षकहरूलाई पुरस्कृत गरेको छ ।
सो अवसरमा शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेल,आन्तरिक लेखा परीक्षक कृष्णप्रसाद आचार्य, राजश्व शाखाका कर्मचारी गीता गुरागाई, असिस्टेन्ट सब ईन्जिनियर प्रकाश पाण्डेय, वडा नम्बर १ का वडासचिव पुष्प बहादुर निरौला र गाउपालिकाका कार्यालय सहयोगी बिरबल कामतलाई उत्कृष्ट कर्मचारीकारूपमा पुरस्कृत गरिएको छ ।
उनीहरूलाई जनही नगद ११ हजार र प्रशंसापत्रसहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी शिक्षाको गुणस्तर बृद्धिमा योगदान पुर्याएको भन्दै कटहरी–४ स्थित आधारभूत विद्यालय खयरबनाका शिक्षकहरू शिला शर्मा दाहाल, जाबेद आलम र निरज साहलाई नगदसहित पुरस्कृत गरिएको छ ।
कटहरी–१ स्थित महेशपुर आधारभूत विद्यालयका शिक्षिका शान्ता थापा, शिला थन्दार माझी र लक्ष्मीकुमारी माझीलाई समेत पुरस्कृत गरिएको छ ।
सो अवसरमा पूर्व कर्मचारीहरू ऋषभदेव अर्याल, खेम सुवेदी, रिता खनाल र नन्दन भट्टराईलाई समेत सम्मान गरिएको थियो ।
View : 284
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved