कांग्रेसको नियमित महाधिवेशन स्थगन
विराटनगर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित १५ औं राष्ट्रिय महाधिवेशन स्थगन गर्दै अब विशेष महाधिवेशन अनिवार्य भएको घोषणा गरेका छन् ।
बिहीबार दुबै महामन्त्रीले सन्युक्त विज्ञप्ति जारी गर्दै अब विशेष महाधिवेशनको माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको वैधानिक जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित दर्ता भएको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न नमिल्ने भन्दै दुई महामन्त्रीले नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था बनेपछि विशेष नै विकल्पका रूपमा अघि आएको बताएका हुन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन नै भएपनि निर्धारित समयमै त्यसलाई सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएको निश्कर्ष निकालेका हुन् । उनीहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य बनेको उल्लेख गरेका छन् ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो,’ विज्ञप्तिमा भनेका छन्, ‘तर नियमित महाधिवेशन समयमै हुन नसक्ने भएपछि विशेष महाधिवेशन विकल्पका रूपमा आएको हो ।’
महामन्त्रीद्वयका अनुसार पार्टी विधानको दफा १७ (२) ले विशेष महाधिवेशनको माग सम्बोधन गर्ने दायित्व स्पष्ट रूपमा केन्द्रीय कार्यालयलाई दिएको छ ।
‘अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त जिम्मेवारी अन्तर्गतका कामहरू सम्भव भएसम्म सर्वसम्मतिबाट अघि बढाइनेछ ।’
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी हालका लागि स्थगित गरिएको महामन्त्रीद्वयले जनाएका छन् ।
पुस २६ गतेसम्म नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार आवश्यक तयारी र कार्यतालिकामा गति दिन नसक्दा समग्र कार्यतालिका प्रभावित भई निष्प्रभावी बनेको उनीहरूको निष्कर्ष छ ।
क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी दिंदै विज्ञप्तिमा हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ जनाको नवीकरण सम्पन्न भइसकेको उल्लेख छ । बाँकी खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब छ लाख नाघ्ने अनुमान गरिएको छ । यस अवधिमा एकलाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको जनाइएको छ ।
नियमित महाधिवेशन स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहका समितिलाई निर्देशन दिइएको छ । उत्पन्न भएको अन्योल र अनिश्चितता अन्त्य गर्न बाध्य भएर विज्ञप्ति जारी गरिएको महामन्त्रीद्वयको भनाइ छ ।
पार्टीभित्र विशेष महाधिवेशनको माग चर्किंदै गएको सन्दर्भमा महामन्त्रीद्वयको यो धारणा कांग्रेसको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । पार्टी संस्थापनले महाधिवेशन टार्न अनेक बहाना गरेपछि महामन्त्रीहरू निर्णायक रुपमा अघि बढेका हुन् ।
विशेष महाधिवेशन पक्षले बिहिबार नै काठमाडौंस्थित भृकुटीमण्डपलाई महाधिवेशन स्थलका बुक गरिसकेको छ ।
शुक्रबार गगन–विश्व समुहले पत्रकार सम्मेलन समेत गरेर विशेष महाधिवेशनको तयारीलाई तिब्रता दिने तयारी भइरहेको जनाइएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको लेखन तयारी समेत उक्त समुहले अघि बढाएको छ ।
कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका अनुसार बुधबार वडा र बिहीबार पालिका अधिवेशन हुनुपर्ने थियो । तर कुनैपनि वडा र पालिकामा अधिवेशन नभएपछि कांग्रेसभित्र महाधिवेशनको बिषयले निर्णायक मोड लिन लागेको हो ।
विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र गर्नुपर्ने विधानको व्यवस्था रहेको छ । त्यो अवधि पुस २८ मा सकिन लागेको हो ।
नियमित महाधिवेशनको कार्यतालिका कार्यन्वयन नभएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेका हुन् ।
View : 294
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved