विराटनगर । जब मान्छेले क्रुरताको सबै हद पार गर्छ, त्यसबेला समाजमा अपराधका अकल्पनीय घटना हुनपुग्छ । मोरङ लेटाङकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा प्रहरी अनुसन्धानले जे देखायो, त्यसले सिंगो समाजलाई स्तब्ध हुन बाध्य पारेको छ ।
यो यस पटकको दसैं सकिए लगत्तैको घटना हो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात असोज २१ देखि बेपत्ता बनेकी मोरङको लेटाङ नगरपालिका–२ फडानीका नवीन गौतमकी १२ वर्षीया छोरी अंशुको शव कात्तिक ७ मा विभत्स अवस्थामा फेला परेको थियो ।
उनको हत्या कसरी भयो, कसले गर्यो ? यी र यस्ता धेरै प्रश्न अनुत्तरित थिए । प्रहरीले घटनाको गुत्थी फुकाउन नसकिरहेका बेला घटनामा केही यस्तो मोड आयो, जसले हत्यारासम्म प्रहरीलाई पुर्यायो ।
जब प्रहरीले बालिकाको हत्यारा किटान गर्यो, त्यो धेरैका लागि विस्मयकारी खबर थियो । छिमेकी त्यो पनि ५९ वर्षका पदमबहादुर अधिकारीले बालिकाको बलात्कारपछि हत्या गरेको रहस्य खुलेपछि यो घटनाको विभत्सता अरु चुलिएको थियो ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका अधिकारीलाई मोरङ प्रहरीले आइतबार विराटनगरमा सार्वजनिक गरेको छ । त्यस क्रममा प्रहरीले अनुसन्धानका क्रममा फेला पारेका तथ्यहरु पनि सार्वजनिक गरेको छ ।
प्रहरीको दाबी अनुसार असोज २१ को दिन दिउँसो अंशु आफ्नी साथीसित खेलिरहेकी थिइन् । उनीहरुलाई अधिकारीले बोलाउँछन् । उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथीेले पैसा माग्छिन् । उनले पाँच रुपैयाँ दिएर दिदीलाई लिएर जंगलको मुखमा आउन भनेर अह्राउँछन् ।
ती बालिका आज्ञाकारी बनेर ‘दिदी बोलाउन’ जान्छिन् । अंशु एक्लै भएको मौका पारेर अभियुक्त पदम अधिकारीले उनलाई आफूसँगै घाँस काट्न सहयोग गर्न प्रस्ताव गर्छन् ।
पितातुल्य छिमेकीले गरेको प्रस्ताव नाबालिग अंशुले टार्न सक्दिनन् । उनले स्वीकृतिसूचक टाउको हल्लाएपछि उनले अंशुलाई पैदल नै जंगलको मुखसम्म आउन भनेर आफू साइकलमा त्यता लाग्छन् । जंगलको मुखमा पर्खिरहेका अधिकारीले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर झण्डै ४ किलोमिटरभित्र जंगलमा पुर्याउँछन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार अधिकारीले त्यहाँ अंशुमाथि बलात्कार गर्छन् । त्यसपछि घाँटीमा थिचेर हत्या गर्छन् । हँसियाले घाँटीसमेत काट्छन् ।
त्यति पाका व्यक्तिले छिमेकी नाबालिगको यसरी हत्या गर्ने कारण यौन चाहना र पारिवारिक रिसइवी भएको प्रहरीको भनाइ छ ।
‘यौन उद्देश्य, पारिवारिक विवाद र बद्लाको भावनाले यो अपराध गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने ‘अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको छ ।’
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुलाई त्यसदिन देख्ने कोही नभएका कारण प्रहरीका लागि अनुसन्धान जटिल बनेको थियो । बालिकाको हत्या आरोपी खोज्ने क्रममा प्रहरीले आफन्तसहित १६ जनाको पोलिग्राफ जाँच गरेको थियो । छिमेकी र वृद्ध भएका कारण पदमबहादुर भने शंकाको घेरामै परेनन् । उल्टै बालिका खोज्न उनी ज्यादै सक्रिय भएर जुटेका थिए ।
सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए । त्यतिबेला उनकी साथीलाई ५ रुपैयाँ दिएको पनि स्वीकारे ।
अंशुसँग गफ गरेर आफू घर फर्किएको बताएका थिए । प्रहरीले घाँस दाउरा लिनका लागि जंगल जानेहरूमाथि निगरानी बढायो । बालिकालाई चिन्ने र बुझ्ने मान्छेमाथि पनि अनुसन्धान गरेको थियो ।
घटनाअघि र घटनापछि लेटाङमा सक्रिय रहेको मोबाइल नेटवर्कको पनि अनुसन्धान भयो । तर, सबै क्षेत्रबाट अनुसन्धान गर्दा कुनै संकेत फेला परेको थिएन । प्रहरीको अनुसन्धान साँघुरिंदै थियो । त्यसै क्रममा कात्तिक १९ मा पदमबहादुर एकाएक घर छाडेर हिंडे । उनले घर छाड्नु भन्दा अघिल्लो दिन मात्रै उनका छोरा जेलबाट छुटेका थिए ।
एसपी कटवालका अनुसार पदमका छोरा सीताराम जबरजस्ती करणी प्रयास उद्योगमा सजाय भुक्तानपछि कात्तिक १८ मा घर फर्किएका थिए । उनी छोरालाई घर सम्हाल्न भन्दै भारततिर लागेका थिए ।
भारत जानुअघि उनले परिवारका सबै सदस्यसँग सल्लाह गरेका थिएनन् । छोरालाई मात्रै सुनाएका थिए । घर छाडेर उनी मेघालय पुगे । त्यहाँ गाई फार्ममा काम गरेको बयान प्रहरीलाई दिएका छन् ।
अनुसन्धानका क्रममा घरमा सल्लाह नगरी भारत गएको खुलेपछि प्रहरीले उनीमाथि शंका गरेको थियो । त्यसपछि आफन्तमार्फत उनलाई बोलाउन लगाइयो ।
उनले नआउने बताएपछि प्रहरी टोली नै मेघालय जाने तयारीमा थियो । तर, आफन्तले फकाएपछि अधिकारी मंसिर १८ गते साँझ घर आइपुगेका थिए । उनलाई मंसिर १९ मा प्रहरीले पक्राउ गर्यो । उनले हत्या स्वीकार गर्दै ग्लानी भएको बयान दिएको प्रहरीको दाबी छ ।
त्यसअघि असोज २१ मा छोरी वेपत्ता बनेपछि त्यो दिनभरि खोजी गरेको परिवारले उनीबारे केही सुराक नपाएपछि भोलिपल्ट असोज २२ मा खोजीका लागि प्रहरी गुहारेको थियो ।
एक्कासी हराएकी बालिका कतै फेला नपरेपछि उनको खोजीका लागि असोज २५ मा आफन्त, स्थानीय वासिन्दा, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जंगल क्षेत्रमा सर्च अपरेसन नै सञ्चालन गरेको थियो । त्यो अभियानले पनि उनी फेला पर्न सकेकी थिइनन् ।
जतिबेला गाउँमा अंशुको खोजी हुँदै थियो, अभियुक्त अधिकारी स्वयम् उनको खोजी अभियानमा सक्रिय थिए । त्यसबेलासम्म उनीविरुद्ध कसैले शंका गरेको थिएन । प्रहरीका अनुसार गाउँलेहरुसँग बालिकाको खोजी कार्यमा उनी बढ्ता नै सक्रिय देखिन्थे ।
उनको हत्या भएको जंगल स्थानीयबासी घाँस दाउराका लागि पुगिरहने क्षेत्र हो । त्यही क्रममा कात्तिक ७ मा लेटाङ–२ स्थित बेलबारी चिसाङ साझेदारी वनभित्र सडिसकेको अवस्थामा एउटा शव फेला पर्यो ।
घाँस काट्न जंगल गएका गाउँलेले शरीरका अंगहरु टुक्राटुक्रा भएको अवस्थामा फेला पारेका थिए ।
गाउँलेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।स्थलमा फेला परेको चप्पल, कालो हाफ पाइन्ट र घडी देखेपछि बुवा नवीन गौतमले आफ्नी छोरी हो भन्ने यकिन गरेका थिए । त्यसपछि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको थियो ।
डीएनए परीक्षणका लागि मृत बालिकाका बाबुआमाबाट नमुना संकलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्रहरीले घरपरिवार, छिमेक, विद्यालय र जंगल क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूसँग सोधपुछ गर्दै ३०० भन्दाबढी मानिससँग बयान लिएको र ५४ जनाको लिखित जाहेरी संकलन गरेको थियो ।
सीसीटीभी फुटेज, फरेन्सिक प्रमाण र स्थल पुनर्निर्माणका आधारमा अनुसन्धान अघि बढाइँदा लेटाङ–२ फडानीका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिइएको हो । अंशुको शव भने अहिले पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ ।
View : 270
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved