Biratnagar, Morang, Nepal
२४ फागुन २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’

उद्‌घोष संवाददाता
१७ असोज २०८१, बिहिवार

कर्णाली, १७ असोज ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कृत्रिम अभ्यास समुदायका लागि विपद् प्रतिकार्यको उपयोगी सन्देश हुने बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल सुर्खेतद्वारा आज भेरीगङ्गा नगरपालिका–११ रामघाटस्थित शिखर माध्यमिक विद्यालयमा आयोजित तीन दिने ‘स्वयंसेवक उद्धारकर्ता विपद् प्रतिकार्य तालिम’को समापन कार्यक्रममा उनले अभ्यास कृत्रिम भए पनि यसले समुदायमा आइपर्ने समस्या सुल्झाउन आवश्यक पर्ने सीप सिकाएको उल्लेख गरे ।

नेपाल बहुप्रकोपीय जोखिमयुक्त देश भएकाले कृत्रिम अभ्यास विपद् प्रतिकार्य गर्न समुदायका लागि लाभदायक हुने प्रजिअ आचार्यले जनाए ।

“घरमा ग्यास आगलागी हुँदा कसरी सुरक्षित हुने, दुर्घटना हुँदा घाइतको उद्धार, प्राथमिकता, उपचार गर्ने विधि र स्थानीय साधन स्रोतको उपयोगबारे विद्यार्थीले यो तीनभित्र सिकेका छन्”, उनले भने, “यसलाई व्यवहारिक जीवनमा संवेदनशील रुपले कसरी प्रयोग गर्ने भन्नेबारे दीक्षित भाइबहिनीहरुले समुदायलाई सिकाउनु पर्दछ ।”

महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति प्रकाश थापाले विपद् पूर्व, विपद्को समय र विपद् पश्चात् गरिने क्रियाकलापको योजनावद्ध खाकाका बारेमा कृत्रिम विपद् व्यवस्थापन योजना भनाएर अभ्यास गराइएको बताए । “विपद् व्यवस्थापन प्रतिकार्य राज्यको दायित्व हो । यसमा आपसी समन्वय र सहकार्य आवश्यक पर्दछ । हरेक व्यक्ति, समाज र समुदायको भूमिका पनि महत्वपूर्ण हुन्छ”, उनले भने ।

विपद् व्यवस्थापन प्रतिकार्यलाई प्रभाकारी बनाउन समुदायको संलग्नता महत्वपूर्ण हुने बताउँदै निमित्त बाहिनीपति थापाले भने, “विपद्मा प्रभावित हुने भनेको समुदाय हो । समुदाय आफ्नो क्षेत्रको जोखिमबारे बढी जानकार हुनुका साथै प्रभावित व्यक्ति र समुदायमा को–को हुन्छन् भन्ने जानकारी लिनु जरुरी हुन्छ ।”

सुरक्षाकर्मी पुग्नुभन्दा अगाडि स्थानीय घटनास्थलमा हुने भएकाले यो तालिम समुदायका लागि लाभदायी हुने थापाको भनाइ छ । विद्यालय रामघाटका प्रधानाध्यापक जनक सिंहले कृत्रिम अभ्यासले मानव जीवनमा आइपर्ने विपद् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने बताए ।

उनका अनुसार तालिमबाट ८० विद्यार्थी दीक्षित भएका छन् । आजको समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र राष्ट्रिय अनुसन्धान सुर्खेतका प्रमुख प्रकाश शाहलगायत व्यक्तिको सहभागिता थियो ।  रासस

View : 361

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved