Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आन्तरिक किचलो कायमै

कोशीमा दलको नेता फेर्ने कसरतबाट हच्कियो कांग्रेस सस्थापनइतर पक्ष

उद्‌घोष संवाददाता
१७ जेठ २०८३, आइतवार

विराटनगर । केन्द्रमा चर्केको आन्तरिक किचलोसँगै कोशी प्रदेशमा संसदीय दलको नेता फेर्ने कसरतमा जुटेको  कांग्रेस सस्थापनइतर पक्ष साथ दिने कोही नभएपछि हच्किएको छ ।

पूर्व सभापति शेरबहादुर देउवा पक्षमा रहेका कृष्णप्रसाद सिटौला समूह र शेखर कोइराला समूहमा रहेका नेताहरूले थालेको यो प्रयास विफल बनेको नेताहरूले बताएका छन् । 

अहिले कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा छन् । पार्टी प्रदेशको सभापतिसमेत रहेका थापा लामो समयदेखि सिटौला पक्षका खम्बा मानिन्थे । तर, कांग्रेसको विशेष महाधिवेशन पछि भने थापाले सिटौलाको साथ छाडेका छन् । 

उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पक्षमा आफूलाई उभ्याएका छन् । उनले समूह परिवर्तन गरेपछि सिटौला समूहमै रहेका प्रदेशका महामन्त्री भूपेन्द्र्र राई, शेखर कोइराला पक्षमा रहेका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितका नेताहरू दलको नेता फेर्ने कसरतमा जुटेको कांग्रेस स्रोतको भनाइ छ ।

‘उहाँहरू दुई जना जोडतोडले दलको नेता फेर्न भनेर लाग्नुभएको हो,’ शेखर कोइराला पक्षका कोशीका एक सांसदले भने, ‘हामीसम्म प्रस्ताव आएको थियो । तर, यो बेला दलको नेता फेर्ने काम गलत र अनुपयुक्त हुने लागेर हामीले अस्वीकार गरेको हौं । यस्तो बेलामा यो काममा कसैले साथ दिंदैन ।’ 

ती सांसदका अनुसार सिटौला र शेखर पक्षका बहुसंख्यक सांसदहरू यतिबेला पार्टी सस्थापन पक्षको लाइनभन्दा बाहिर जाने अवस्थामा छैनन् । यस्तो बेलामा राजनीतिक जोखिम मोलेर दायाँ बायाँ गर्ने सामथ्र्य कसैले नराख्ने उनको भनाइ छ । 

पार्टी सभापति थापा र उपसभापति शर्मा थापालाई मुख्यमन्त्री बनाउने लाइनमा प्रष्ट उभिएका छन् । उनलाई मुख्यमन्त्री बनाउन भनेरै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थापा र शर्माले थापालाई कांग्रेसबाट मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् । ओलीले भने कोशीमा एमालेबाट नै अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउने भनिरहेका छन् । 

थापाले मुख्यमन्त्री बन्ने अवसर पाउने सम्भावना बढेपछि उनलाई नेताबाट हटाउन सिटौलाले आफ्ना विश्वासपात्र  भूपेन्द्र्र राईलाई यो जिम्मा दिएको र कोइराला पक्षका कार्कीले साथ दिएको कांग्रेस नेताहरू बताउँछन् । 

तर, पहिले सिटौला पक्षमा रहेका थापा, प्रमुख सचेतक गोपाल तामाङसहितका नेताहरूले सिटौलाको साथ त्यागेका छन् । सिटौलाकै क्षेत्रका भूमि राजवंशी मात्रै सिटौलाको साथमा रहेको अवस्था छ । 

उनले पनि भूपेन्द्र्र राईको अभियानमा साथ दिने अवस्था छैन, ती नेताले भने ‘किनभने, राई  कोशीको भौतिक मन्त्री हुँदा उनी राज्यमन्त्री थिए । त्यसबेला पेलेका कारण उनी बिच्केका छन् ।’

सिटौला समूहभित्र यस्तो फाटो आउँदा विगतमा केदार कार्कीलाई मुख्यमन्त्री बन्न सहयोग गरेका शेखर पक्षका सांसदहरू पनि कार्कीको पक्षमा नभएको नेताहरू बताउँछन् । केही दिन अघिमात्र संसद परिसरमा शेखर पक्षका सांसद रामकुमार खत्रीले उद्घोषसग कुरा गर्दा अब कांग्रेसबाट कोशीमा कोही मुख्यमन्त्री बने थापा नै हुने बताएका थिए ।

कार्कीलाई साथ दिएका मानबहादुर लिम्बू अहिले मन्त्री नै छन् । गोविन्द गिरी, इन्दिरा थापा लगायतका सांसदहरू कार्कीलाई साथ दिने अवस्थामा नरहेको नेताहरूको भनाइ छ । यसरी दुवै समूहका अरूले साथ नदिएपछि दलको नेता फेर्ने कसरत अलपत्र परेको हो ।

संस्थापनइतर पक्षले भने अहिले संस्थापनमा उभिएका थापालाई सिटौलाले नै उता पठाएको भन्दै हल्ला चलाइरहेको चर्चा पनि भैरहेको छ । तर, नेताहरू भने यस्तो हल्ला अराजनीतिक भएको बताउँछन् । 

प्रदेशका महामन्त्री राईले दलको नेता फेर्ने कसरत कसैले नगरेको दाबी गरेका छन् । पूर्व मुख्यमन्त्री र म अहिले क्रियाशील सदस्य अद्यावधिक नगर्ने अभियानमा छौं, केही साथीहरूलाई अर्को चस्का परेको हुनसक्छ, राईले भने ‘हामी विशेष र नियमित महाधिवेशनवाला अभियानमा हो । दलको नेता फेर्ने अभियानमा अहिलेलाई होइन ।

View : 181

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved