विराटनगर, १४ कात्तिक : मोरङ प्रहरीले स्रोत नखुलेको २१ लाख ८७ हजार रुपैयाँसहित एक नाबालकलाई पक्राउ गरेको छ । प्रहरीले एक हजार रुपैयाँ दरको १६८७ थानको १६ लाख ८७ हजार तथा पाँच सय दरको १००० को ५ लाख रुपैयाँ बरामद गरेको हो ।
मंगलबार अपरान्ह ३ बजेतिर विराटनगर महानगरपालिका–६ शनि मन्दिर चोकबाट १६ वर्षीय नाबालकको साथमा रहेको झोला तलासी लिंदा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पछाडि भिर्ने कालो झोलाभित्र बोकेको नेपाली एक हजार र पाँच सय रुपैयाँ दरको नोट बरामद गरेको जनाइएको छ ।
उनको साथबाट कुमारी बैंकको चेक बुक एक थान, एनआइसी एशिया बैंकको काटिएको चेक एक थान र ग्लोबल आइएमई बैंकमा विभिन्न मितिमा जम्मा गरिएको भौचर चारवटा समेत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
बरामद भएको उक्त रकम हुण्डी कारोबारीको रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीले बताए । प्रहरीले नाबालकले चढेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
View : 365
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved