विराटनगर । गत कार्तिक १७ मा सप्तकोशी नदीमा विपद् अभ्यासका क्रममा डुंगा दुर्घटना हुँदा डुबेर घाइते बनेका र सञ्चार सामग्रीमा क्षति पुगेका पत्रकारहरुको उपचार खर्चसहित क्षतिपूर्तिको माग गर्दै बुधबार पत्रकारहरुकै कार्यक्रममा एक पत्रकारले प्रदर्शन गरेका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीकै अगाडि प्रदर्शन भएको हो । कोशीमा डुबेर घाइते भएका रेडियो नेपालका पत्रकार कुमोद अधिकारी झण्डै एकसाता अस्पतालमा बस्नु परेको थियो । कोशी प्रदेश सरकारसँगकै सहकार्य र निमन्त्रणामा विराटनगरबाट चतरा पुलमा पुगेका पत्रकारहरु लापरवाहीपूर्ण रुपमा चलाइएको डुंगा दुर्घटनामा परी घाइते भएका थिए ।
अधिकांश पत्रकारहरुको भिडियो क्यामेरा, फोटो क्यामेरा, मोबाइल, ट्रे–पोर्ट लगायतका सञ्चार उपकरणहरु नदीमा डुबेर काम नलाग्ने भएको थियो । तर प्रदेश सरकारले पत्रकारको उपचार र राहतमा कुनै चासो नदेखाएको भन्दै पीडित पत्रकारहरुको तर्फबाट अन्तपूर्ण पोष्टका पत्रकार जितेन्द्र ठाकुरले प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको बुधबार आयोजित तेश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री केदार कार्कीले बोल्न लाग्दा ठाकुरले ‘कोशीमा डुबेका पत्रकारलाई क्षतिपूर्ति देउ’ भन्दै प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
उनले पटक–पटक मुख्यमन्त्रीको सचिवालयले क्षतिपुर्तिका लागि भन्दै क्षतिको विवरण मागेर पनि हालसम्म कुनैपनि प्रक्रिया अघि नबढाएपछि प्रदर्शनमा उत्रिनु परेको ठाकुरले बताए ।
सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्दार सम्बन्धि कार्यक्रमको समापनका लागि पत्रकारहरुलाई फोन गरेर बोलाएर लगिएको र उनीहरुलाई लाइफ ज्याकेट समेत नलगाई बोटमा क्षमताभन्दा बढि व्यक्तिहरुलाई चढाएर कोशी तार्ने क्रममा ढुंगा पल्टिएको थियो ।
तत्कालिन अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसमेत जिम्मा लिएका मुख्यमन्त्री केदार कार्कीले समेत उक्त घटनापछि पत्रकारहरुलाई राहत र क्षतिपूर्तिमा कुनै चासो नदिएको अन्य पत्रकारहरुले गुनासो गर्दै आएका छन् ।
प्रदेश सरकारका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले क्षतिपूर्तिसम्बन्धि प्रदेश सरकारको कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेको भन्दै जवाफ दिने गरेको उनीहरुले बताएका छन् ।
उक्त बोट दुर्घटनामा ठाकुरसहित कान्तिपुरकर्मी महाप्रसाद खतिवडा र क्यामेराम्यान शम्भु पोखरेल, कान्तिपुर दैनिकका तत्कालिन सम्वाददाता देवनारायण साह (हाल मुख्यमन्त्रीका प्रेस सल्लाहकार), सुनसरीका पत्रकार खेमराज सापकोटा (हाल मुख्यमन्त्रीको सचिवालयमा कार्यरत) र रेडियो नेपालका कुमोद अधिकारी गरी ६ पत्रकार र अन्य सर्वसाधारण गरी १३ जना घाइते भएका थिए ।
View : 210
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved