Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जम्मा हुँदै लागुऔषध, बढ्दो जोखिम

उद्‌घोष संवाददाता
२२ असोज २०८२, बुधवार

विराटनगर । भर्खरैको प्राकृतिक विपत्ति, दशैं र जेनजी आन्दोलनमा सुरक्षा निकाय केन्द्रित भएको फाइदा उठाउँदै लागुऔषधका कारोबारी सक्रिय भएका छन् ।

भारतमा पाइने औषधिजन्य लागुऔषधको माग भन्दा भारत र तेस्रो मुलुकबाट आउने ब्राउनसुगरको माग नेपालमा बढेको छ ।

सुरक्षा निकाय अन्यत्र केन्द्रित भएकाले व्यवसायीले उच्च ब्यापार गर्दै आएको सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन् । कोशी प्रदेशको मोरङ, सुनसरी र झापाका ४ सय भन्दा बढी ब्राउनसुगरका कारोबारी यस बेला सक्रिय छन् ।

रिकभरिङ नेपालका प्रदेश उपाध्यक्ष सञ्जीव चापागाईले झापा र सुनसरीमा तीन सय बढी र मोरङमा एक सय बढी मानिस ब्राउन सुगरको डिलरका रुपमा काम गर्दै आएका छन् । 

‘जेनजी आन्दोलनदेखि युवाले प्रहरीलाई टेर्दैनन्, लागुऔषध प्रयोगकर्ता युवा प्रयोग गरेर कारोबारीले ब्राउन सुगरको डिलर चलाउँदैछन्’ चापागाईले भने । जसका कारण अर्को ठुलो विपत्ति आउन सक्ने उनको भनाइ छ ।

धेरै खाले अपराधमा लागुऔषध प्रयोगकर्ता सहभागी भएको हुनाले सीमामा कमजोर सुरक्षा उपस्थिति रहेका बेला तिनै प्रयोगकर्तालाई भरिया बनाइने गरिएको छ । 

जेनजी आन्दोलनमा ब्यक्तिका निजी सम्पत्ती आगजनी गर्नेमा लागुऔषध प्रयोगकर्ता बढी भएको बताइन्छ । आन्दोलनमा लागुऔषध प्रयोगकर्ताले गरेका अपराधको सुची प्रहरीले तयारी गर्दैछ ।

भारतीय सीमा क्षेत्रमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कार्यरत रहे पनि न्यून जनशक्तिका कारण सूचना संकलनमै ब्यस्त छ । 

‘हरेक मौकाको फाइदा अपराधीले उठाउँछ, तर उनीहरू कारवाहीको दायरामा जहिले पनि आउन सक्छन्’ कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले भने, ‘सुरक्षाकर्मी मात्रै सबैथोक हैन अपराध रोक्न नागरिकले पनि सहयोग गर्नुपर्छ, गर्दैछन् ।’

जेनजी आन्दोलनपछि कमजोर देखिएको सुरक्षा संयन्त्र पुनः चलायमान हुन थालेको भए पनि निश्चित अपराध निगरानीमा लाग्न सकेको पाइदैन ।

कोशी प्रदेशका १४ जिल्ला मध्ये प्राकृतिक प्रकोपको बढी क्षति बेहोरेको इलाममा प्रहरी र नागरिकले संयुक्त रुपमा उद्धारमा सहभागी भएकाले पनि प्रहरीलाई जनताको साथ पाएको महशुस भएको छ । यो अवस्थामा लागुऔषध र त्यसबाट हुने धेरै अपराध रोक्न जनस्तरबाटै सहयोगको प्रहरीले अपेक्षा गरेको छ ।

रिकभरिङ नेपालका अनुसार लागुऔषध मुक्त भएर समाज रुपान्तरणमा सक्रिय कोशी प्रदेशमा एक हजार जना भन्दा बढी छन् । 

यदि नेपाल प्रहरीले सहयोग माग्छ भने दैनिक दुई सयको संख्यामा लागुऔषध नियन्त्रणमा रिकभरी युवा परिचालन गर्न सकिने संस्थाले जनाएको छ । 

उपाध्यक्ष चापागाईले लागुऔषधमुक्त भएका युवाहरूमार्फत लागुऔषधको आयात र प्रयोगमा नियन्त्रण गर्न आफूहरू तयार रहेको बताए ।

तत्कालीन मोरङका प्रहरी उपरीक्षक डा.मनोज केसी (हाल सीआईबी प्रमुख) हुँदा उनले गरेको गतिविधिका कारण लागुऔषधको आयात र कारोबारी मोरङमा कम भएको तथ्याङ्कले देखाएको थियो । 

जनतासँगको सहकार्यमा सञ्चालन गरिएको गतिविधिले ब्राउनसुगरका कारोबारी र प्रयोगकर्ता घटेको लागुऔषध नियन्त्रणका अभियन्ताको भनाइ छ ।

View : 229

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved