Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले मागे संघीय सांसदहरूको ‘रिपोर्ट कार्ड’

उद्‌घोष सम्वाददाता
२६ पुष २०८०, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय संसदका सांसदहरूको रिपोर्ट कार्ड मागेका छन् । मंगलबारमाक्रै नियुत्त भएका सभामुख अम्बरबहादुर बिष्टले सञ्चालन गरेको प्रदेश सभाको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री थापाले कोशी प्रदेशले बनाएजति कानुन संघीय संसदले बनाउन नसकेकोले संघीय सांसदहरूले रिपोर्ट कार्ड दिनुपर्ने बताए ।

उनले प्रदेशसभाले कानुन बनाएर इतिहास रचेको दाबी गरे । उनले यस्तो इतिहास रच्न संघीय संसदलाई धेरै समय लाग्ने पनि बताए ।

‘कोशी प्रदेशसभाले जति कानुन बनाएको छ, इतिहास रचेको छ, त्यो इतिहास रच्न संघीय संसदलाई धेरै समय लाग्छ’ मुख्यमन्त्री कार्कीले भने, ‘हामीले त मन्त्रीहरूको होइन, संघीय संसदहरूको रिपोर्ट कार्ड माग्नुपर्ने बेला आएको छ, कतिवटा कानुन बनाउनुभयो ? संविधान कार्यान्वयनमा तपाईले के गर्नुभयो ? तपाईले विकासका नाममा कति बजेट पठाउनुभयो ?’

उनले संघीय सांसदहरूले संसदबाट पास भएर पठाएको विकास बजेटमा दुई लाख रुपैयाँको बजेट पठाएको भन्दै व्यंग पनि गरे । त्यस्तो बजेटको कार्यान्वयन समेत लथालिङ्ग भएको र कतिपय विकास बजेट त कार्यान्वयन नै गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

‘तपाईको संसदबाट पास भएर पठाएको विकासका नाममा ५ लाख, २ लाख, ३ लाखका बजेटहरू हामीले लथालिङ्ग भएका देखेका छौं’ उनले भने, ‘कार्यान्वयन गर्नै नसक्ने अवस्थामा गएका छन्, त्यस कारणले माननीयज्यू, संघीय संसदमा तपाईले बसेर के गर्नुभयो ? कति उटपट्याङ कुरा गर्नुभयो ? यो कुरा हामीले सोध्नुपर्ने छ ।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको प्रमुख प्रतिपक्षले संसदको ड्राइभरको भूमिका खेलिरहेको बताए । उनले सत्तापक्षको भूमिका बाबु र प्रतिपक्षको भूमिका आमाको जस्तो हुनुपर्ने बताए । आफूले संसदमा सबैभन्दा बलियो प्रतिपक्ष पाएको पनि मुख्यमन्त्री कार्कीले बताए ।

‘बलियो प्रतिपक्ष पाउँदा सरकारले गर्व महसुस गरेको छ, झन आफैंले बनाएको मुख्यमन्त्रीलाई त्यो अवसर दिने नै भयो, सरकारलाई अझ जिम्मेवार बनाएर लगेको छ’ उनले भने ।

उनले सबैको सहमतिमा संघीयतालाई अस्वीकार गर्ने राप्रपालाई प्रदेशसभाको नेतृत्वमा पुर्‍याएर संघीयता बलियो बनाउन मद्दत गरेको बताए ।

View : 146

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved