काठमाडौं । ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलालाई आफ्नो गोप्य अङ्ग देखाएको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् ।
प्रहरीका अनुसार घटनापछि पीडित महिलाले भट्टको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएसँगै प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएर भट्टलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ ।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर सार्वजनिक स्थलमा अश्लील तथा अभद्र व्यवहारसम्बन्धी घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved