विराटनगर, २३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी काँग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी रहेका छन् ।
काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’ को उपचार गराइरहेका बुढाथोकी गए राति ११:३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।
उनी विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी विसं २०६४ मा काँग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसको सरकार गठन हुँदा बुढाथोकी सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । उनी निडर र स्पष्ट वक्ता भनेर चिनिएका थिए ।
तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए ।
विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका बुढाथोकी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल समेत बसेका थिए ।
पञ्चायत कालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्र कालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए ।
दुई सातायता प्रोस्टेटको जटिल समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उनको निधनले काँग्रेसलाई ठुलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए । उनको पार्थिव शरीर मङ्गलवार नै झापा लगिने जनाइएको छ । शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबिच काँग्रेस केन्द्रीय समितिको मङ्गलवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बुढाथोकीले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको विज्ञप्तिमार्फत जनाएको छ । उनको निधनबाट काँग्रेस मर्माहत र स्तब्ध भएको जनाइएको छ ।
बुढाथोकीको निधनका कारण काँग्रेसले माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।
बुधवार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने तथा १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुढाथोकीको निधनको १३ औँ दिनमा उनको गृह जिल्ला झापामा शोक सभाको आयोजना गर्ने समेत निर्णय गरेको जनाइएको छ ।
View : 127
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved