विराटनगर–१८ भेडियारीस्थित विराट राजा दरबार परिसरमा रहेको भग्नावशेष संरक्षण गर्ने क्रममा ढिस्को खोतलेपछि देखिएको प्राचीन संरचनाको स्वरुप । तस्वीर : नवीन कर्ण/उद्घोष
विराटनगर । विराट दरबार परिसरमा रहेको प्राचीन भग्नावशेष संरक्षणको प्रयास शुरु भएको छ । पुरातत्व विभागको टोलीले मुल ढिस्कोको रुपमा रहेको भग्नावशेषलाई संरक्षण गर्ने कार्य शुरु गरेको हो ।
पुरातत्व विभागको टोलीले यसअघि माटोले छोपेर राखिएको ढिस्को माथिको माटो पन्छाएर त्यसमाथि नयाँ आवरण बनाउने कार्य शुरु गरेको हो ।
कन्जरभेसन भनिने यस विधिमा प्राचीन संरचनाको मौलिक स्वरुपलाई बचाई राख्दै संंरक्षण गर्ने कार्य गरिन्छ ।
यो विधिमा प्राचीन संरचनाको ढाँचामा प्रयोग भएको इँट्टा जस्तै आकार प्रकारको नयाँ इँट्टा राखेर नयाँ लेयर तयार गरिनेछ ।
त्यसो गर्दा ढाँचाको वास्तविक स्वरुप अनुसार इँट्टा फुटाएर मुनिको लेयरझैं वास्तविकता झल्किने गरी जडान गरिनेछ ।
विराट दरबार परिसरको यो ढाँचा झण्डै २५ सय वर्ष पुरानो रहेको पुरातत्वविद् हरिप्रसाद भुसालले जानकारी दिए ।
उक्त ढाँचा मन्दिरको हुन सक्ने उनले बताए । सो ढाँचामा प्रयोग भएको प्राचीन इट्टाहरूको लम्बाई चौडाई झण्डै ३४ इन्च बाई १७ इन्च छ ।
ती इँट्टाहरूलाई माटो प्रयोग गरी एकअर्कासँग जोडिएको छ । पुरातत्व विभागले यस ढाँचामा प्रयोग भएको इँट्टाको नमुना संकलन गरी अर्डर दिएर काठमाडौंबाट सोही आकार प्रकारको इँट्टा झिकाईसकेको छ । सोही इँट्टा कन्भजरभेसनको क्रममा प्रयोग गरिने छ ।
ढिस्को माथि नयाँ लेयर बनाउने क्रममा सिमेन्ट र बालुवाको साटो प्राचीन कालको विधि सुर्खी चुनाको प्रयो गरी जडान गरिने छ ।
सिमेन्ट र बालुवाबाट इँट्टा जोड्दा त्यसको टिक्ने उमेर ४० देखि ५० वर्ष हुने भएपनि सुर्खी चुनाबाट इँट्टा जोड्दा त्यसको उमेर घटीमा सय वर्ष हुने पुरातत्वविद् भुसालले बताए ।
सुर्खी चुनामा प्रयोग हुने सुर्खी भनेको इँट्टाको धुलो हो भने मानिसले खान प्रयोग गर्ने चुनालाई बालुवामा मिसाएर प्रयोग गरिन्छ ।
इँट्टा जडानका लागि सुर्खी चुना तयार गर्ने क्रममा १ भाग चुना, २ भाग सुर्खी र २ भाग बालुवा मिसाएर सिमेन्टको विकल्पमा सुर्खी चुना तयार गरिन्छ ।
मंसिर १७ बाट कन्जरभेसनको काम शुरु गरेको विभागको टोलीले पुस १५ सम्म सो कार्य सम्पन्न गर्ने जनाइएको छ ।
यसअघि सँधै माटो मुनि पुरिएको अवस्थामा रहने ढिस्को वास्तविकझैं मुल स्वरुपमा देखिने भएपछि यस ठाउँमा जिज्ञासु तथा दर्शनार्थीहरूको आवागमन बढने अपेक्षा गरिएको छ ।
View : 282
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved