माओवादीका मन्त्रीहरुले बुझाएर राजिनामा
विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई समर्थन कायमै राखेर कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
माओवादीका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएर मुख्यमन्त्री कार्कीलाई उक्त राजिनामा पत्र बुझाएका हुन् ।
मन्त्रीहरूले राजीनामा बुझाए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन चाहेको छैन ।
मन्त्रीहरुको राजिनामाको घोषणा अघि माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले पत्रकार सम्मलेन नै गरेर सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका हुन् । उनले मुख्यमन्त्री कै आग्रहमा माओवादीले समर्थन कायम राख्नुपरेको प्रष्टिकरण दिए ।
‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रहेका हौं’, आङ्बोले भने, ‘मुख्यमन्त्रीले प्रदेशमा सहमतिको सरकार नबन्ने भनेपछि हाम्रा मन्त्रीहरुले राजीनामा दिएका हुन् ।'
प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलनमा मन्त्रीहरुसहित उपस्थित आङ्बोले लगत्तै मन्त्रीहरुले मुख्यमन्त्रीसामु राजीनामा पत्र बुझाउने बताए अनुसार नै मुख्यमन्त्री कार्यालयमा पुगेर माओवादीका मन्त्रीहरुले राजिनामा बुझाएका हुन् ।
‘अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो र त्यसलाई दिएको समर्थन फिर्ता गर्न सबै सांसद भेला हुनुपर्छ’, उनले भने ‘सरकारलाई दिएको समर्थन पनि हामी चाँडै फिर्ता लिन्छौं, प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं।’
एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो ।
उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती, वन, वातावरण तथा पर्यटन मन्त्री नारायण बहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन, वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर थिए ।
उनीहरुले अलग-अलग राजीनामा पत्र तयार पारेर मुख्यमन्त्रीलाई बुझाएका हुन् ।
माओवादीका मन्त्रीहरुको राजिनामापछि कोशी प्रदेशमा अब एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुन बाटो खुलेको छ ।
कांग्रेस एमालेबीच भागबन्डाका लागि छलफल शुक्रबारदेखि काठमाडौंमा सुरू हुने ती दल सम्बद्ध नेताहरुले बताएका छन् ।
View : 200
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved