सुनसरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा इलाका प्रहरी कार्यालय इटहरीको भवन पुनस्र्थापना गरी हस्तान्तरण गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट इलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्णरूपमा ध्वस्त भएको थियो ।
कार्यालय ध्वस्त भएपछि विस्थापित बनेको इलाका प्रहरी झण्डै तीन महिना इटहरी–२० तरहराको चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गरिएको थियो ।
इटहरी उपमहानगरपालिका तथा बिभिन्न संघसंस्था तथा ब्यक्तिको पहलमा गठन गरिएको इलाका प्रहरी कार्यालय भवन पुनस्र्थापना सहयोग समिति मार्फत भवन मर्मत तथा न्यूनतम पूर्वाधार निर्माण गरिएको हो ।
इटहरी रंगशाला परिसरको जेष्ठ नागरिक भवन र त्यहा उपलब्ध भएका अन्य संरचनालाई मर्मत तथा पुनर्निर्माण गरी बुधबार हस्तान्तरण गरिएको हो ।
उपभोक्ता समितिले कार्यालय प्रमुखको कार्यकक्ष, हिरासत कक्ष, आवश्यक गुणस्तरीय कोठा, प्रहरी ब्यारेक, भान्सा घर, शौचालय, खानेपानी तथा विद्युत् जडान, भण्डारण कक्ष, प्रतीक्षालय र मेलमिलाप केन्द्रलगायतका संरचना निर्माण तथा मर्मत गरिदिएको हो ।
भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रूपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
पुनर्स्थापना कार्यमा इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रूपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रूपैयाँ योगदान रहेको बताइएको छ ।
कठिन परिस्थितिमा समेत इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयको सहयोगले निर्माण कार्य सहज रूपमा सम्पन्न भएको भवन पुनर्निर्माण सहयोग समितिका संयोजक सन्तबहादुर डुम्जनले जानकारी दिए ।
कार्यक्रममा युवा व्यवसायी बिनोद पौडेल संयोजकत्वको चारपांग्रे सवारी साधान सहयोग उपसमितिले प्रहरीका लागि एउटा बोलेरो गाडीसमेत हस्तान्तरण गरेको छ ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved