Biratnagar, Morang, Nepal
३० कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

बयान दिन नगएपछि अभिषेक गिरीको घरमै सूचना टाँस

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरी आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान चलिरहेका अभिषेक गिरीलाई प्रहरीले बयानका लागि बोलाए पनि सम्पर्कमा नगएपछि घरैमा सूचना टाँस गरिएको छ ।

बयानका लागि उपस्थित हुन जिल्ला प्रहरी कार्यालय मोरङले पत्राचार गरे पनि उनी उपस्थित नभएपछि शुक्रबार विराटनगर–८ मधुमारास्थित गिरीको घरमा सूचना टाँस गरिएको हो ।

गिरी विराटनगरमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ पर्दै छुट्दै आएका छन् । 

उनीविरुद्ध अहिले प्रहरीले आपराधिक लाभ लिई संगठित अपराध गरेको तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान गरिरहेको छ ।

गिरीलाई पक्राउ गरेपछि उनको गैरकानुनी क्रियाकलाप बाहिर आएको थियो । गिरीले नै मोरङ कारागारभित्र आफ्नो प्रभाव र सञ्जाल तयार गरी त्यहाँका कैदीबन्दीको सिधा सुविधावापतको रकम आपूm र निकट व्यक्तिहरूका माध्यमबाट हडप्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको थियो । 

साथै, गिरीको आर्थिक कारोकारसँग जोडिएका व्यक्ति र घटनाहरू बाहिर आएका थिए ।

प्रहरीले सूचना टाँस गरेको मितिले सात दिनभित्र बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित हुन भनेको छ । 

उपस्थित नभए आवश्यक कारवाहीको प्रक्रिया अघि बढ्ने अनुसन्धान अधिकारी प्रहरी निरीक्षक लेखनाथ दाहालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

शुक्रबार गिरीको घरमा प्रहरी पुग्दा घरभित्रबाट ढोका नखुलेपछि गेटमै सूचना टाँसेर प्रहरी टोली फर्किएको हो । स्रोतका अनुसार पछिल्ला दिनमा गिरी विराटनगरमा देखिएका छैनन् । संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयान लिन खोजिरहेको प्रहरीले सात दिनभित्र उपस्थित नभए पक्राउ गर्ने तयारी गरेको छ ।

प्रहरीले गिरीलाई बयानका लागि उपस्थित हुन भन्दै कात्तिक १९ मा हुलाकमार्फत पत्र पठाएको थियो । पत्र प्राप्त भएपछि सात दिनभित्र आवश्यक दशी प्रमाण तथा कागजातसहित उपस्थित हुन भनिएको छ ।

गिरी पहिलो पटक गत असार १३ गते पक्राउ परेका थिए । हिलो र धुलोको केन्द्र बनेको हुलाकी सडकको कटहरी खण्ड निर्माणको ठेक्का पाएका हेटौंडाको श्रेष्ठ कन्स्ट्रक्सन नै कब्जामा लिएर गिरीले ठूलो आर्थिक हानी नोक्सानी पु¥याएको र चलअचल सम्पत्तिसमेत कब्जा र बिक्री गरिदिएपछि ठेकेदार शुभाष श्रेष्ठले सीआईबी गुहारेका थिए । सीआईबीले उनलाई विराटनगरबाटै असार २३ मा पक्राउ गरी काठमाडौं लगेको थियो ।

उक्त प्रकरणमा श्रेष्ठसँग मेलमिलाप गरेर विराटनगर आएका गिरीलाई मोरङ प्रहरीले साउन २१ मा अर्को लेनदेनसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो । त्यो मुद्दामा समेत मेलमिलाप गरेपछि उनी हिरासतमुक्त भएका थिए ।

तर, उनको मुख्य संलग्नता देखिएको भनिएको मोरङ कारागारका कैदीबन्दीको सेवासुविधा गैरकानुनी रुपमा असुली गरेको आरोपबाट सुरु भएको अनुसन्धान सम्पत्ति शुद्धीकरणको चरणमा पुगेको छ । 

प्रहरीले सोही प्रकरणमा पछिल्लो पटक उनलाई बयानका लागि बोलाए पनि गिरीले अटेर गरिरहेका छन् ।

View : 61

३० कार्तिक २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved