Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अस्ताए राजबहादुर सर

उद्घोष सम्वाददाता
११ असार २०८१, मङ्गलवार

विराटनगर । उनी बर्मामा जन्मिए । नेपाली भाषीमाथि जुलुम अत्याचार हुन थालेपछि उनी नेपालको विराटनगर आइ पुगे ।

श्रीमती कमला कुँवरसहित २०३० को दशकमा विराटनगर आइपुगेका राजबहादुर कुँवरले यहाँ अंग्रेजी माध्यमबाट पठनपाठन गर्न अरनिको बोर्डिङ स्कुल सुरु गरे । 

विराटनगरको शिक्षा क्षेत्रका लागि कुँवर दम्पत्ति पायोनियर थिए । उनीहरू दम्पत्तिमात्रै थिएनन् अरनिको बोर्डिङ स्कुललाई एउटा उचाइमा पुर्याउन एकसाथ दौडिरहेका पाङ्ग्रा दुई तर एउटै साइकलजस्ता थिए । 

धेरैका लागि कुँवर दम्पत्ति दुई शरीर एक मुटु थिए । न राजबहादुरले कमलाको साथ छाडे न कमलाले राजबहादुरको । देख्नेले जीवनका जस्तोसुकै उकाली–ओरालीमा कुँवर दम्पत्तिलाई एकसाथ मात्र देखे । 

नेपालमा छँदै राजबहादुर सरलाई हात, खुट्टा काम्ने रोगले छोइसकेको थियो । तथापि कुँवर सरको स्याहारसुसारमा कुनै कमी नराखी उनको जीवन तन्काउने कमला कुँवरसहितको परिवारले सकेसम्मको प्रयास गर्यो । तर प्रयास असफल भएपछि सुविधासम्पन्न भनेको देश अमेरिकामा राजबहादुर सर सदाको लागि अस्ताएका छन् । 

यद्यपि उनको पार्थीव शरीर अमेरिकाको शिकागो शहरमा अन्तिम संस्कारको पर्खाइमा छ । कुँवर सरको अमेरिकामा आइतबार बिहान निधन भएको छ । 

नेपाली समयअनुसार ८२ वर्षीय उनको आइतबार राति १० बजे निधन भएको हो । विभिन्न ठाउँमा रहेका परिवारका सबै सदस्यहरू भेला भएर अमेरिकाको समयअनुसार मंगलबार बिहान उनको अन्तिम संस्कार हुँदैछ । कुँवर परिवार निकट दिपेन्द्र अमात्यका अनुसार अस्ट्रेलियाबाट छोरी प्रार्थना कुँवर केसी अमेरिका पुगेपछि अन्तिम संस्कार सुरु हुनेछ । 

प्रार्थना अरनिको स्कुलको पहिलो ब्याचकी एसएलसी दिने छात्र पनि हुन् । अरनिकोका १२ जना विद्यार्थी पहिलो पटक २०४४ सालमा एसएलसीमा सहभागी भएका थिए ।

वि.सं. २०३३ सालमा राजबहादुर र कमला कुँवरले विराटनगरको तीनटोलियामा एउटा भाडाको घरमा अरनिको बोर्डिङ स्कुल सुरु गरेका थिए । 

कुनै समय सोही विद्यालयमा पढाएकी साथै कुँवर परिवार निकट सुर्य मास्के बढो दुःखले कुँवर परिवारले विद्यालय सञ्चालन गरेको स्मरण गर्छिन् । 

‘पहिला भाडाको घरमा सुरु गरेको हो, मोतिराम भट्टराईको घरमा जस्तो लाग्छ’ मास्के भन्छिन्, ‘दुवै जना पढाउनुहुन्थ्यो, सारै मिहेनत गर्नुहुन्थ्यो ।’ 

आफू परिवारकै सदस्यजस्तो भएर बसेको उल्लेख गर्दै मास्केले राजबहादुर कुँवरको निधनले आफू स्तब्ध भएको बताइन् ।

कुँवर दम्पत्तिले स्थापना गरेका अरनिको स्कुल सम्हाल्ने उत्तराधिकारीहरू नेपालमा नबस्ने भएपछि धेरैजसो शेयर बिक्री गरेर उनीहरू अमेरिका बस्दै आएका थिए । 

अमेरिका बसाइकै क्रममा राजबहादुर कुँवरको निधन भएको हो । उनी अल्जाइमर, नशा सम्बन्धी रोगलगायतबाट पीडित थिए ।

View : 76

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved