Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

लागू औषधका भरिया थुनेर प्रहरीले समात्यो तीनजना कारोबारी

उद्घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

संखुवासभा । देशभरमा लागुऔषध ओसारपसारमा पक्राउ परेका खबर दैनिक सार्वजनिक भए पनि प्रतिवन्धित बस्तुका लगानीकर्तासम्म अनुसन्धानकर्ता पुग्दैनन् । संखुवासभामा खैरो हेरोइनका भरिया समातेर लगानीकर्ता तथा कारोबारी फेला पारिएको छ । 

लागुऔषधसहित पक्राउ परेका ब्यक्तिलाई अदालत लगिन्छ र कानुन अनुसार कारवाही हुन्छ । यो प्रहरीले गर्ने नियमित कार्यालय भित्रको ड्युटी सरह हो । तर, संखुवासभामा अलि फरक ड्युटी गरेर प्रहरीले प्रतिबन्धित वस्तु आयात गर्न लगाउने ब्यक्तिलाई नै पक्राउ गर्न सफल भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा अति महँगो लागुऔषधमा पर्ने खैरो हेरोइन बिगतमा आर्थिक समस्या भोग्ने धेरै नागरिक बस्ने पहाड चढ्न थालेको खुलेको छ । 

गएको शुक्रबार धनकुटाबाट संखुवासभातर्फ जाँदै गरेको सार्वजनिक बस रोकेर प्रहरीले जाँच गर्दा चैनपुर–९ त्रिशुलेका २३ वर्षीय सरोज खत्री पक्राउ परे । उनको साथमा शंकास्पद धूलो पदार्थ र १० वटा स्पास्पेन नामका ट्याब्लेट थियो ।

ट्याब्लेट लागुऔषधका रुपमा प्रयोग गरिने औषधि चिनिएकाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साथमा फेला परेको साढे ११ ग्राम धूलो पदार्थ फेला परेको थियो । 

धूलो पदार्थ के हो ? कहाँ र कसका लागि लैजाने भन्ने खत्रीबाट सही सूचना नपाएपछि प्रहरीले उनले बोकेको मोबाइल फोनको सहारा लिएर कारोबारीसम्म पुग्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, पहाडी जिल्लामा अति महँगो लागुऔषध कहाँसम्म पुग्छ भनेर खत्रीको मोबाइल फोनमा आएका कल प्रहरीले रिसिभ गरेको थियो ।
खैरो हेरोइन बोक्न लगाउनेलाई प्रहरीले खत्री पक्राउ परेको थाहा नदिई सामान लिन बोलाएर नियन्त्रणमा लिएको हो ।

थप पक्राउ पर्नेमा चैनपुर–७ तेर्से चौताराका २५ वर्षीय दोर्ची शेर्पा र चैनपुर–६ बजारका २९ वर्षीय जेनेश श्रेष्ठ छन् । उनीहरु संखुवासभामा खैरो हेरोइनको कारोबारी भएको र माथिल्लो भेगसम्म लगेर महँगो मूल्यमा बिक्री गर्ने ब्यक्ति भएको अनुमान गरिएको छ । खैरो हेरोइनको पहाडमा हुने कारोबारबारे अनुसन्धान भई रहेको बस्नेतले बताएका छन् ।

View : 38

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved