Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महाधिवेशन प्रतिनिधि चयन

कतै ठेलामठेल, कतै मतपत्र च्यातिए

बस्नेतले वडा कमिटी अध्यक्ष पाठकलाई २० पटक बढी वारेसमा भोट हालेको आरोप लगाए । पाठकले भने वडाका असक्त र अपाङ्गता भएका संगठित सदस्यहरूको अनुमतिमा तीन पटक उनीहरूले नै भनेका उम्मेदवारलाई इमान्दारिपूर्वक चिन्ह लगाइदिएको जिकिर गरे ।
उद्‌घोष संवाददाता
१३ मंसिर २०८२, शनिवार

नेकपा एमाले मोरङको क्षेत्र नम्बर ६ को महानगर मतदान केन्द्रमा शनिबार अपरान्ह महानगर इन्चार्ज बस्नेत र १२ नम्बर वडा कमिटीका अध्यक्ष पाठक पक्षबीच भएको धकेलाधकेल । तस्वीर : उद्घोष

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि शनिबार तोकिएको मतदानका क्रममा केही ठाउँ विवाद देखिए । विवादका बीच मतदान सम्पन्न भएको हो । 

प्रदेश राजधानी रहेको मोरङमा क्षेत्र नम्बर ६ को विराटनगर महानगर मतदान केन्द्रमा नेता कार्यकर्ताहरूबीच ठेलामठेलको अवस्था बन्यो । 

एकै व्यक्तिले धेरै पटक वारेस लिएर मतदान गरेको विषय विवादित बन्दा प्रदेश कमिटी सदस्य एवं महानगर इन्चार्ज पर्शुराम बस्नेत र वडा नम्बर १२ का वडा कमिटी अध्यक्ष भानुभक्त पाठकबीच चर्को विवाद भयो । उक्त विवाद मिलाउने नेता कार्यकर्ताभन्दा पक्ष विपक्षमा लाग्नेको संख्या बढेपछि एकअर्काबीच ठेलामठेल नै भयो ।

बस्नेतले वडा कमिटी अध्यक्ष पाठकलाई २० पटक बढी वारेसमा भोट हालेको आरोप लगाए । पाठकले भने वडाका असक्त र अपाङ्गता भएका संगठित सदस्यहरूको अनुमतिमा तीन पटक उनीहरूले नै भनेका उम्मेदवारलाई इमान्दारिपूर्वक चिन्ह लगाइदिएको जिकिर गरे ।

महानगर इन्चार्ज बस्नेत केपी ओली पक्षमा छन् भने पाठक इतर पक्षका हुन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा दुवै पक्षबीच मतभेद चलिरहँदा नेता कार्यकर्ताहरूको ठेलामठेल झण्डै हात हालाहालमा परिणत भयो ।

बस्नेतले निर्वाचन समितिले मतदानका लागि आवश्यक व्यवस्थापन नगर्दा विवादको कारण बनेको बताए ।

मोरङको क्षेत्र नम्बर ५ मा मात्रै सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बाँकी क्षेत्रमा भने निर्वाचन भएको हो । यसरी निर्वाचन हुँदा संस्थापन र इतर पक्षबीच स्पष्ट प्रतिष्पर्धा देखिएको हो ।

मोरङबाट इतर पक्षको नेतृत्व सल्लाहकार परिषद् सदस्य विनोद ढकालले गरेका छन् । उनी क्षेत्र नम्बर ६ बाटै महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका छन् ।

पाँचवटा निर्वाचन क्षेत्र र दलित क्षेत्रमा शनिबार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन भएका क्षेत्रमा शनिबार साँझ ६ बजदेखि मतगणना गर्ने सहमति भएका कारण सबैतिरको अन्तिम मत परिणाम भने आइतबार बिहानसम्म आइसक्ने नेकपा एमाले मोरङका सचिव सोमराज थापाले बताए । 

थापाका अनुसार क्षेत्र नम्बर ५ बाट खुलातर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, महिलामा उषा झा र शान्ता डंगोल, युवामा मोहम्मद हमिद आजाद सर्वसम्मत चयन भएका छन् ।

बगडिया र डंगोल संस्थापन पक्षका हुन् । रंगेली नगरपालिकाको मेयरसमेत रहेका बगडियाले भने आफूलाई कुनै पनि पक्षमा नखुलाइदिन आग्रह गर्दै आएका छन् । 

राजवंशी, अग्रवाल, झा र आजाद भने इतर समूहमा खुलिसकेका छन् । मोरङमा भने करिव ८० प्रतिशत प्रतिनिधि इतर पक्षबाटै निर्वाचित हुने उक्त पक्षका नेताहरूले दाबी गर्दै आएका छन् । 

जिल्ला र महानगरको नेतृत्व आफ्नो पक्षमा पारेको इतर पक्षले भने मोरङमा आफू नै संस्थापन पक्ष भएको दाबी गर्ने गरेको छ । यो पक्षले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका ईश्वर पोखरेललाई सघाउने जनाइएको छ ।

यता, एमाले धनकुटामा भने संस्थापन ओली समूहभित्रैको मतभेदले मतपत्र च्यात्ने र तालाबन्दी गर्नेसम्मको अवस्था बन्यो । 

एमाले केन्द्रीय सदस्य राजेन्द्र राई समूहले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने सहमति गरेर शनिबार बिहानै मतदानको प्रक्रिया अघि बढाएको भन्दै प्रदेश कमिटी सदस्य इन्द्रमणि पराजुली पक्षले मतपत्र च्यात्नुका साथै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

१३ जना प्रतिनिधिका निर्वाचनको तयारी भएको थियो । पराजुली पक्षले ४ जना र राई पक्षले ९ जना छान्ने गरी शुक्रबार सहमति भएको कार्यकर्ताहरूले बताए । तर राई पक्षले शनिबार बिहानै निर्वाचनको प्रक्रिया अघि बढाएपछि विवाद उत्पन्न भएको हो । 

पराजुली पक्षका उम्मेदवारले सहमतिमा जाने भएका कारण शुक्रबार नै उम्मेदवारी फिर्ता लिएका थिए । तर राई पक्षले जबरजस्ती निर्वाचन गराउन खोजेका कारण विवाद हुँदा आक्रोसित कार्यकर्ताहरूले मतपत्र च्यातेको जनाइएको छ । पराजुली पक्षले पत्रकार सम्मेलन गर्दै चुनाव प्रक्रियालाई अस्वीकार गरेको छ । 

‘सत्ता र शक्तिमा उनीहरू भएका कारण जबरजस्ती चुनाव गराएका छन्, उनीहरूले प्रक्रिया मात्रै मिलाएका हुन्, हरेक कुरा अपरदर्शी रुपमा गरे, भोट पनि एकलौटी हाले’ पराजुलीले भने, ‘अघिल्लो दिनसम्म सहमति भनेर शनिबार बिहान ८ बजेसम्म अलमल्याए, अनि एकलौटी भोट हाले, ज्ञानेन्द्रले गराएको चुनाव जस्तो भयो, जे जे गर्ने उनीहरूले मात्रै गरे ।’

एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले पत्रकार सम्मेलनमार्फत गुटगतको बलमा राई पक्षले चुनाव गराएको आरोप लगाए । उक्त निर्वाचन बहिष्कार गरिएको कार्कीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य शकुन्तला बस्नेत, नेता चन्द्र बस्नेत, निरेन तामाङ, मञ्जु अधिकारी, बलदीप राई, तारा तितुङ लगायत सहभागी बनेका थिए । 

तर, राई पक्षले भने सहमतिको प्रयास गरिए पनि सहमतिमा आउन नमानेका कारण प्रक्रियाअनुसार चुनावमा गएको बताएका छन् । 

एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभागका प्रमुख रविन कट्टेलले एउटै समूहका बीच निर्वाचनको प्रक्रियालाई लिएर विवाद भएको बताए । उनले शान्तिपूर्ण रुपमा निर्वाचन भएको जानकारी दिए ।

View : 305

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved