विराटनगर, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज तेस्रो पटक प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
फागुन २१ गते नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा परिवर्तन गरेर दाहालले एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिन १३८ मत आवश्यक छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला दाहाललाई संसद्माध उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले विश्वासको मत दिएका छन् । गठबन्धन फेरेपछि उनलाई अहिले विश्वासको मतका लागि आवश्यक संख्या जुटाउन ठुलै राजनीतिक मुल्य चुकाउनु परेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा अहिले दाहाल प्रधानमन्त्री छन् ।
प्रधानमन्त्री बन्न कांग्रेससँगको साथ छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनताका एमालेसँगको गठबन्धन पुन: छाडेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि दाहालले २०७९ चैत ६ मा पुनः विश्वासको मत लिंदा १७२ मतमात्रै प्राप्त भएको थियो ।
नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् । तर उक्त पार्टीका संस्थापक अध्यक्ष एवं श्रेष्ठका पति रेशम चौधरीले भने विश्वासको मत नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले “नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफलपश्चात निणयार्थ प्रस्तुत गरिने” बुधबारको बैठकको कार्यसूची रहेको जनाइएको छ ।
View : 192
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved