Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राजनीतिमा अपराधीकरण बढ्यो: डा शेखर

उद्घोष सम्वाददाता
८ असार २०८१, शनिवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । उनले राजनीतिमा हुने अपराधलाई रोक्न नसके  मुलुक असफल हुने र त्यसको जिम्मा ठूला दलले लिनुपर्नेमा जोड दिए । 

शनिबार नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे । 

आफ्नो पार्टी नेता कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको भनाइ थियो । भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको बताउँदै भ्रष्टाचारको विषय आउँदा जहिले पनि ठूला दलका नेताहरू एकठाउँमा उभिन्ने गरेको नेता कोइरालाको भनाइ थियो ।

नेता कोइरालाले भ्रष्टाचारका काण्डहरू बाहिर आउने तर केही समयपछि त्यतिकै सेलाएर जाने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा नेपालको भूमिकाप्रति अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्ने गरेको बताए । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने उनको भनाइ थियो । 

उनले संघ र प्रदेशमा गरी विगत डेढ वर्षमा २३ पटक सरकार फेरिएको बताए । स्थिर सरकार नभएकाले पनि जनअपेक्षाअनुसारको काम हुन नसकेको कोइरालाले उल्लेख गरे । नेता कोइरालाले सरकार गिराउने र ढाल्ने खेलमा कांग्रेस नभएको प्रष्ट पारे ।

‘सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस लाग्दैन,’ उनले भने, ‘तर सत्तारुढ दलभित्रै कलहका कारण यो सरकारको भविष्य पनि त्यति लामो छैन ।’ 

नेता कोइरालाले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डीला संग्रौला, मुस्लिम संघका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतार, विराटनगर महानगरपालिका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेले ध्यान दिनुपर्नेमा जोड दिए ।

View : 43

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved