विराटनगर । कोशी प्रदेशका मुख्यमन्क्री केदार कार्कीले नियुत्त भएको ९६औं दिनमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक फदमा बसेका व्यक्तिले नियुत्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि उनले ढिलो गरी नियमको पालना गरेका छन् । मुख्यमन्त्री कार्कीसहित उनको मन्त्रिमण्डलका तीन मन्त्रीहरूको सम्पत्ति विवरण बुधबारको मितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक भएको हो ।
गत असोज २७ गते मुख्यमन्क्री नियुत्त भएका कार्कीले पुस २६ गतेसम्मको ९० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (२) बमोजिम तोकिएको समयभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नसके विवरण सार्वजनिक गर्न नसक्नुको कारणसहित सम्बन्धित निकायले बढीमा ३० दिनसम्मको म्याद थप्ने व्यवस्था छ । तर मुख्यमन्त्री कार्कीले बुधबार ९६ औं दिनमा बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यद्यपि ९६ औं दिनमा सम्पत्ति विवरण सार्वजनिक भए पनि सम्पत्ति विवरण पेश गरिएको मिति भने २०८० मंसिर २१ को उल्लेख छ ।
मुख्यमन्त्री कार्कीका निजी सचिव भूपेन्द्र खनालले मुख्यमन्त्रीले सम्पत्ति विवरण यसअघि नै बुझाइसकेको दाबी गरेका थिए । तर लामो समयसम्म उनको सम्पत्ति विवरण सार्वजनिक नभएपछि यसअघि उद्घोष दैनिकले त्यस विषयमा समाचार सम्प्रेषण गरेको थियो । कार्की गत असोज २७ गते मुख्यमन्क्री नियुत्त भएका थिए । पुस २६ मै उनी मुख्यमन्क्री नियुत्त भएको ९० दिन पूरा भएको थियो ।
बुधबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री केदार कार्कीको नाममा कृषि विकास बैंकमा एउटा बैंक खाता र त्यसमा मौज्दात २० हजार ८३ रुपैयाँ ९० पैसा बाहेक कुनै सम्पत्ति छैन । मुख्यमन्त्री सम्पतिविहीन देखिदा उनकी श्रीमती शान्तादेवी बस्नेतको नाममा भने विराटनगर महानगरपालिकाको वडा नम्बर ७ मा मात्रै ५ कित्ता र बुढीगंगा गाउँपालिकामा तीन कित्ता जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
शान्तादेवीको नाममा बुढीगंगामा रहेको जग्गा जागीर, बोनस, कर्जा र सापटीको स्रोतबाट खरिद गरिएको देखाइएको छ । त्यस्तै विराटनगर–७ मा रहेका पाँच कित्ता जग्गा भने जमीन बिक्रीबाट आर्जन भएको भनिएको छ । मुख्यमन्त्री कार्कीले दुई वर्षअघि कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणमा भने विराटनगर–७ मा मात्रै आठ कित्ता जग्गा श्रीमती शान्तादेवीको नाममा देखाएका थिए । यस पटक मुख्यमन्त्री बन्दा तीन कित्ता जग्गा भने बिक्री गरेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
मुख्यमन्त्री कार्कीले पहिले नै पेश गरेको सम्पत्ति विवरण अनुसार सुन २५ तोला र चाँदी ८० तोला कायम गरेका छन् । उनले प्रस्तुत गरेको सम्पत्ति विवरणअनुसार श्रीमती शान्तादेवीको नाममा करिव ८५ हजार रुपैयाँ, छोराहरू साकेतबाबु कार्की र शाब्दिकबाबु कार्कीको बैंक खातामा साढे तीन लाख रुपैयाँका दरले नगद मौज्दात रहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीको कुनै पनि प्राइभेट कम्पनीमा शेयर देखिदैन । तर उनकी श्रीमती र छोराहरूका नाममा विभिन्न ५२ वटा कम्पनीहरूमा साधारण शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मुख्यमन्त्री कार्कीले यस पटक सम्पत्ति विवरणमा शेयरको पुरानै विवरण उल्लेख गरेका छन् । उनले दुई वर्षअघि मन्त्री हुँदा पनि सोही विवरण प्रस्तुत गरेका थिए । कार्कीले यस अवधिको कम्पनीहरूको शेयर र त्यसको यकिन संख्या अद्यावधिक गरेका छैनन् ।
मुख्यमन्त्री कार्कीले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट १ करोड बढी ऋण रहेको उल्लेख गरेका छन् । उनले यसअघि मन्त्री हुँदा पनि यही विवरण प्रस्तुत गरेका थिए । उनले यस अवधिमा कृषि विकास बैंकको ८ हजार ५२० रुपैयाँ र नागरिक लगानी कोषको २ लाख ३५ हजार रुपैयाँ बाहेक अरु ऋण नतिरेको सम्पत्ति विवरणले नै देखाउँछ ।
२०७८ कात्तिक १६ मा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका वर्तमान मुख्यमन्त्री कार्कीले त्यतिबेला पनि समय गुजारेरै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । उनले मन्त्री बनेपछि पेश गरेको सम्पत्ति विवरणमा देखाइएको ऋणमध्ये हालसम्म बैंकलाई साँवा ब्याज नबुझाएको कुरा अहिले मुख्यमन्त्री बन्दा सार्वजनिक भएको सम्पत्ति विवरणको तथ्यले देखाएको छ । सम्पत्ति विवरणअनुसार उक्त ऋण मुख्यमन्त्री कार्की आफैले लिएको हो वा परिवारका सदस्यको नाममा भन्ने चाहिँ खुल्दैन । मुख्यमन्त्री कार्कीकी श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजार रुपैयाँ मूल्यको एक थान सवारी साधन रहेको उल्लेख छ ।
बुधबार मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको सम्पति विवरणअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आफ्नो नाममा इलामको रोङ गाउँपालिकामा चार कित्ता जग्गा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ती जग्गा आफ्नै नाममा रहेको उल्लेख गर्दै सम्पत्तिको स्रोत पैतृक र अलैंची बिक्रीबाट प्राप्त आम्दानी भएको बताएका छन् ।
मन्त्री राईसँग १० तोला सुन रहेको उल्लेख गरेका छन् । १० तोला मध्ये ६ तोला सुन श्रीमतीको दाइजो र ४ तोला अलैंची बिक्रीबाट खरिद गरेको सम्पत्ति विवरणमा देखाएका छन् । उनले आफू र श्रीमती मालती राईको नाममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा १ लाख ५० हजार रुपैयाँको साधारण शेयर रहेको उल्लेख गरेका छन् । साथै यावा बाख्रा फर्म र यावा अलैंची खेती तथा नर्सरी समेत सञ्चालन गर्दै आएको मन्त्री राईको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा घरजग्गा देखाएका छन् । विराटनगर–१ मा १ कट्ठा ५ धुर जग्गा र त्यसमा घर रहेको उल्लेख गरेका छन् । उक्त जग्गा र घर आफ्नो पैतृक, ऋण र तलवबाट जोडेको मन्त्री उप्रेतीले उल्लेख गरेका छन् ।
उनले श्रीमतीकै नाममा सुनसरीको इटहरी–१० मा ११ धुर जग्गा रहेको देखाएका छन् । मन्त्री उप्रेतीले आफूसँग १० तोला सुन र २० तोला चाँदी रहेको खुलाएका छन् । मन्त्री उप्रेतीले आफू र श्रीमतीको नाममा तीनवटा बैंकमा २ लाख ७८ हजार नगद मौज्दात रहेको देखाएका छन् ।
मन्त्री उप्रेती र उनकी श्रीमतीको नाममा विभिन्न कम्पनीको आईपीओ, सहकारी संस्थाहरूको नाममा गरी १ हजार ४५० कित्ता शेयर रहेको जनाइएको छ । उनले महिमा सहकारी, नागरिक लगानी कोष र प्राइम बैंकबाट कुल ३९ लाख ५० हजार ऋण रहेको देखाएका छन् । ७ लाख २० हजार रुपैयाँ भने तिरिसकेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमतीको नाममा स्कुटर र आफ्नो नाममा एक थान मोटरसाइकल रहेको उनले विवरणमा खुलाएका छन् । साथै विभिन्न कृषि फार्महरूमा पनि साझेदार रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर र झापामा घर जग्गा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री जबेगुसँग पाँचथरको फालेलुङ–१ मा आफू र श्रीमती निरु खालिङको नाममा अंशबण्डाबाट १५ रोपनी ११ आना जग्गा र त्यसमा घर, फालेलुङ–२ र झापाको दुवागढी र शनिश्चरेमा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उनले श्रीमतीको दाइजोबाट १० तोलासहित साढे ११ तोला सुन र १५ तोला चाँदी सम्पत्ति देखाएका छन् । एक लाख रुपैयाँ बैंक मौज्दात र अरुण कावेली हाइड्रोपावरको ५० कित्ता शेयर रहेको बताएका छन् । स्थानीय हातेमालो सहकारी संस्थाबाट ४ लाख ऋण लिएको देखाएका छन् ।
घरमा एउटा दुहुना गाई, एक हल गोरु र एउटा खसी पनि रहेको मन्त्री जबेगुको सम्पत्ति विवरणमा उल्लेख छ ।
View : 253
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved