विराटनगर । गर्मी महिना चढेसँगै समुदाय स्तरबाट सञ्चालित मानगढ खानेपानी आयोजना विराटनगरमा आपूर्तिमा समस्या देखिएको छ । माग अनुसार आपूर्ति गर्न नसकेको आयोजनाको पानीमा धमिलो पानी आउन थालेको छ ।
उत्तरी विराटनगरमा शुद्ध पानी वितरण गर्दै आएको आयोजनामा गएका वर्षझै वैशाखको खडेरीमा पिउने पानीको आपूर्तिमा समस्या आएको हो ।
उत्पादन भन्दा माग बढी भएकाले आयोजनाले उपभोक्तालाई चाहिए जति पानी दिन सकेको छैन । सडक मर्मतका कारण भत्किएका पाइपबाट प्रयोगकर्ताको भान्सामा हिलोयुक्त दुर्गन्धित पानी पुग्ने गरेको छ ।
करिव ६ हजार घर परिवारलाई पिउने पानी वितरण गर्दै आएको आयोजना सरकारी खानेपानी संस्थान भन्दा बलियो छ । तर, आन्तरिक निर्वाचन, राजनीतिक हस्तक्षेप र सडक मर्मतमा हुने पाइपको क्षतिले उपभोक्ताले खानेपानीमा प्रत्यक्ष समस्या भोग्दै आएका छन् ।
‘कहिले पानीमा लेदो आउँछ, फोर्स कम भएकाले टंकीमा पानी नचढेर हैरान छ’ विराटनगर–४ दूधफारमका उपभोक्ता यादव ओझाले भने ।
विराटनगर–३ स्थित मदननगर आधारभूत विद्यालयका विद्यार्थीले पनि पानीको समस्या भोग्दै आएको पाइएको छ ।
प्रधानाध्यापक विश्वनाथ न्यौपानेले यदाकदा लेदो पानी धाराबाट आउने गरेकाले विद्यार्थीले हात, मुख धुनसमेत समस्या भोगेको बताए ।
मानगढ खानेपानीका ६ हजार उपभोक्ता मध्ये आधासरोका अग्लो घरको छानामा तीन दिनदेखि पानी चढ्न सकेको छैन ।
यतिबेला मानगढ खानेपानी आयोजना आन्तरिक निर्वाचनको समस्यामा छ । निर्वाचनमा समस्या भएपछि अदालतको आदेशमा दीर्घकालिन असर पर्ने कुनै पनि काम गर्न रोक लागेकाले एक वर्षदेखि क्षमता विस्तारको काम हुन सकेको छैन ।
नौ सदस्यीय समितिका लागि तीन वटा प्यानलको गत वर्ष निर्वाचन भएको थियो । विवादपछी अदालतले पुनः निर्वाचन गर्न आदेश दिएको छ ।
आयोजनाका अध्यक्ष राम घिमिरेले जाडोको तुलनामा गर्मीयाममा पानीको खपत दोब्बर हुने र क्षमता विस्तारमा अदालतको आदेशले रोकेकाले १० महिनादेखि सामान्य मर्मत बाहेकका काम गर्न नपाएको बताए ।
यो अवधिमा पानीको नयाँ सदस्य बन्न चाहने दुई सय घरले मिटर नपाएको बताउँदै उनले उच्च अदालत विराटनगरको निर्वाचन पुनः गर्नुपर्ने आदेशपछि हालै मात्रै नयाँ सदस्यका घरमा सेवा दिन थालिएको जानकारी दिए ।
सडक मर्मतका क्रममा पाइपमा क्षति पुग्ने गरेको र त्यहाँबाट हिलो पानी छिरेकाले घरसम्म पुगेको घिमिरेले जानकारी दिए ।
खानेपानी आयोजना स्थापना हुनु अघिदेखिनै सक्रीय रहंदै आएका घिमिरे झण्डै तीन दशकदेखि नेतृत्वमा छन् र, पुनः अध्यक्षको दौडमा छन् ।
एमाले निकट घिमिरेले र एमाले निकटनै रहेका लालमणि भट्टराईको प्यानलसहित नेपाली कांग्रेस समर्थक दुर्गा चापागाईंको प्यानल पनि चुनावी मैदानमा छ ।
मानगढ खानेपानी आयोजना १ अर्ब ६ करोडको बजेटमा शुद्ध पानी उत्पादन गर्ने योजना सञ्चालित छ । जमिनमुनिको पानी तान्ने मात्रै हैन पानीको सतहमा शुद्ध पानी बढाउने आयोजनाको कार्यक्रम छ ।
आकाशबाट परेको पानी शुद्ध बनाएर जमिनमुनि पठाउने योजना रहेको घिमिरेले बताए । आयोजनाले विराटनगरका १, ३ र ४ तथा बुढीगंगाको १ वडामा पानी उत्पादन गरी बितरण गर्दै आएको छ ।
२०४७ सालमा सो क्षेत्रमा पानीको आवश्यक्ता पूरा गर्न २ सय २५ थान हातेकल वितरण गरेर पानीको अभियानमा लागेका घिमिरे सरकार र उपभोक्ताको साझा लगानीमा सञ्चालित यस आयोजनाबाट आगामी २५ वर्ष पानीको समस्या नहुने गरी योजना सफल बनाउने दाबी गर्छन् ।
खानेपानीका नेपालमै विज्ञका रुपमा रहेका घिमिरेका सामु एमाले निकटकै भट्टराईको प्यानल खडा भएकाले निर्वाचनमा चुनौती थपिएको छ ।
View : 62
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved