बिहारमा पहिलो चरणको मतदान
विराटनगर । नेपालको सीमावर्ती भारतीय राज्य बिहार यतिबेला विधानसभा चुनावको चटारोमा छ । यही क्रममा बिहीबार (आज) बिहारमा पहिलो चरणको मतदान हुँदैछ । त्यहाँ भइरहेको चुनावकै कारण नेपाल–भारत सीमा अहिले बन्द छ ।
कोशी प्रदेशको राजधानी विराटनगरसहित दक्षिण नेपालसँग साँध जोडिएको बिहारमा भइरहेको चुनावलाई लिएर सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार भारतले सुरक्षा सतर्कताका लागि सीमा क्षेत्र बन्द गरेको छ ।
‘निर्वाचनका समयमा अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने नियमित प्रक्रिया हो’, एसएसपी पोखरेलले भने ‘हामीले पनि सीमा क्षेत्रमा आफ्नो हदमा रहेर सुरक्षा सतर्कता अपनाएका छौं ।’
विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा हुने आवधिक निर्वाचनको प्रत्यक्ष प्रभाव नेपालमा पर्दै आएको छ । अझ सीमावर्ती राज्य बिहारमा हुने निर्वाचन नेपाल र नेपालीका लागि ठूलो चासोको विषय बन्ने गरेको छ ।
बिहारका २४३ विधानसभा क्षेत्रमा यसपटक निर्वाचन हुँदैछ । तर, सबै क्षेत्रमा एकैपटक नभई दुई चरणमा मतदान हुनेछ ।
पहिलो चरणको मतदान बिहीबार र दोस्रो चरणको मतदान नोभेम्बर ११ अर्थात आगामी सोमबार हुँदैछ । जोगबनी, फारबिसगञ्ज लगायत क्षेत्र पर्ने नेपालसँग सीमा जोडिएको अररिया क्षेत्रमा दोस्रो चरणमा मतदान हुनेछ ।
बिहारका १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान हु“दै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो चरणको प्रचारका लागि बिहीबार फारबिसगञ्ज आउँदैछन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मतगणना नोभेम्बर १४ अर्थात कात्तिक २८ मा हुनेछ । बिहारमा ७ करोड ४२ लाख मतदाता छन् ।
सधैंजसो चर्चामा रहने बिहार चुनाव यसपटक युवा भर्सेस वृद्धबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।
बिहारमा यसपालि नौ पटक मुख्यमन्त्री भइसकेका ७४ वर्षीय नितिश कुमारलाई चुनौती दिंदैछन् ३५ वर्षका युवा नेता तेजस्वी यादवले ।
राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धनले तेजस्वीलाई भावी मुख्यमन्त्री घोषणा गरेको छ भने सत्ता गठबन्धनले नितिशलाई नै अघि सारेको छ ।
बिहारका बहुचर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी पछिल्लो समय बिहारको प्रतिपक्षी दल आरजेडीका नेता हुन् ।
यो गठबन्धनमा कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन् ।
त्यस्तै भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको (एनडिए) गठबन्धनले जनता दल (युनाइटेड) का नितिश कुमारलाई आफ्नो तर्फबाट भावी मुख्यमन्त्री घोषणा गरेको छ । उनी पछिल्लो पटक महागठबन्धन त्यागेर भाजपाकै समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका थिए ।
पटक पटक गठबन्धन फेरिरहने भएकाले उनलाई विपक्षीहरू ‘पल्टुराम’ भनेर व्यंग्य गर्छन् ।
एनडीए गठबन्धनमा भाजपासहित जनता दल, लोक जनशक्ति पार्टी (राम विलास), राष्ट्रिय लोक मोर्चा र हिन्दुस्तानी आवाम मोर्चा सामेल छन् ।
बिहारमा नौ पटक मुख्यमन्त्री भइसकेका राजनीतिका पुराना खेलाडी नितिश कुमारलाई टक्कर दिन लागेका तेजस्वी यादवको यो तेस्रो विधानसभा चुनाव हो ।
उनी दोस्रो पटक मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसपटक बिहारमा भएका विभिन्न सर्भेक्षणहरुले मतदाताले युवा नेता तेजस्वीलाई भावी मुख्यमन्त्रीका रुपमा हेर्न चाहेको बताएका छन् ।
बिहारमा उपमुख्यमन्त्री र विपक्षी दलको नेता भएर अनुभव हासिल गरेका तेजस्वी र पुराना नेता नितिशबीचको भीडन्तमा कांग्रेस र भाजपा पनि एक–एकतिर भएर भिड्दैछन् ।
यसपटकको चुनावमा एनडीए गठबन्धनबाट भारतीय जनता पार्टी र जनता दल (युनाइटेड) दुवैले १०१ सिटमा उम्मेदवारी दिएका छन् भने लोक जनशक्ति पार्टी (राम विलास) ले २९, राष्ट्रिय लोक मोर्चाले ६ र हिन्दुस्तानी आवाम मोर्चाले ६ सिटमा उम्मेदवार उठाएको छ ।
महागठबन्धन तर्फबाट तेजस्वी नेतृत्वको आरजेडीले १४३ सिटमा उम्मेदवार उठाएको छ भने कांग्रेसले ६१, भारतीय कम्युनिस्ट पार्टीले ९, कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) ले ४, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) ले २० र विकासशील इन्सान पार्टीले १५ सिटमा उम्मेदवार खडा गरेका छन् ।
यसपटक विपक्षी मोर्चाको चुनाव प्रचारमा कांग्रेस नेता राहुल गान्धी, बिहारकै कांग्रेस युवा नेता कन्हैयाकुमार लगायतका नेताहरु सामेल छन् भने सत्ता गठबन्धनबाट प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत प्रचारमा छन् ।
भाजपाको शक्ति मापन गर्ने अवसरका रुपमा हेरिएको बिहार चुनावमा यसअघि भाजपाको चुनावी क्याम्पेनर प्रशान्त किशोर आफैं जनसुराज पार्टी खोलेर प्रतिस्पर्धामा छन् ।
बिहारका ७ करोड ४२ लाख मतदाताले युवा नेता तेजस्वी यादवलाई राज्यको नेतृत्व सुम्पेलान् कि दशौं पटक पनि नितिशलाई नै मुख्यमन्त्री बनाउलान् ? यसका लागि कात्तिक २८ गते साँझसम्म कुर्नु पर्नेछ ।
View : 247
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved