विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा कार्कीलाई हटाए कार्कीलाई नै नियुक्त गरेका छन् । शुत्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बोर्डको उपाध्यक्ष रहेकी जिनाजंग कार्कीलाई हटाएर कोशी प्रदेशसभाकी पूर्व सांसद बिन्दिया कार्कीलाई नियुक्त गरेको हो ।
जिनालाई पनि मुख्यमन्त्री कार्कीकै दवावमा बोर्डको उपाध्यक्षमा नियुक्त गरिएको थियो । तर उनी अमेरिका गएपछि बोर्डको नेतृत्व तहबाट हुनुपर्ने नीति निर्माण र खेलकुदका गतिविधिहरूको निर्वाध सञ्चालनमै समस्या पर्दै आएको थियो । उनी अमेरिकाबाट नफर्किने भएपछि मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयबाट निर्णय गराएर विन्दिया कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले बोर्डको सदस्य सचिवमा एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष समेत रहेका हंशराज वाग्लेलाई नियुत्त गरेका थिए । तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका वर्तमान मुख्यमन्त्री केदार कार्कीको ढिपीले जिना उपाध्यक्षमा नियुक्त भएकी थिइन् ।
उनको नियुक्तिको विषयलाई लिएर कांग्रेसभित्रै टीकाटिप्पणी समेत भएको थियो । तर उनी अमेरिका पुगेर उतै बस्न थालेपछि उनलाई हटाएर पूर्व प्रदेशसभा सदस्य कार्कीलाई उपाध्यक्षमा नियुक्ति गरिएको जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्यहरूमा मदन खड्का र गौरीमान राईलाई पनि नियुक्त गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमा विभिन्न प्रकारका कार्कीहरूको कुल देवता र मठ मन्दिरको बजेट काटेर मानवीय विकासमा बजेट लगाएको भन्दै ठूलो प्रचारप्रसार गर्दै आएका छन् । तर उनले नियुक्तिमा भने कार्कीलाई नै ठाउँ दिएका हुन् ।
प्रदेश खेलकुद विकास बोर्डको अध्यक्ष भने सामाजिक विकासमन्त्री रहने व्यवस्था रहेको छ । बाँकी पदमा भने प्रदेश सरकारले नै मनोनित गर्ने बोर्ड गठनसम्बन्धी व्यवस्था रहेकाले सोही अनुसार सरकारले उपाध्यक्ष र सदस्यहरू नियुक्त गरेको जनाइएको छ ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री बनेका कार्कीको क्याबिनेटमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पनि कार्की थरकै मन्त्री रहेका छन् । माओवादी केन्द्रका राजेन्द्र कार्की अहिले सोही मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।
प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ मा बोर्ड गठन सम्बन्धी व्यवस्था रहेको छ । जसको उपदफा (२) बमोजिम अध्यक्षले नियुक्त गर्ने उपाध्यक्ष प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा महत्वपूर्ण योगदान पुर्याएका मध्येबाट प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था रहेको छ ।
उत्कृष्ठ महिला उद्यमीलाई सम्मान
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका उत्कृष्ठ महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रत्येक जिल्लाका उत्कृष्ठ महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकले कोशीका १४ जिल्लाबाट एक–एकजना उत्कृष्ठ महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताए ।
प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक विदा दिने स्वीकृति गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरूजु न्यूनीकरण तथा फर्छ्यौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।
View : 239
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved