खोटाङ, १७ मङ्सिर । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् ।
१२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् । सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छैनन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।
किबीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र १४ लाख बढीको बेर्ना बिक्री गरेका थिए । करिब २५ रोपनी जमिनमा किबी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गरेका छन् । एघार वर्षअघिदेखि किबी खेती सुरु गरेका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गरेको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्याउने गरिएको छ ।
जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी एक सयदेखि एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ । विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए ।
“मेरो फार्ममा तीन सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा एक सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उनले भने, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु ।
त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।” किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन् ।
किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउछन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।
नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उनले भने, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए ।
प्रति केजी एक सय ६० का दरले हिसाब गर्दा १६ लाख हुन आउँछ । यो वर्ष पनि एक सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख बराबरको हुन्छ ।”
नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ ।
फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताए ।
किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए । जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् ।
एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् । रासस
View : 88
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved