Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा १९ औं बृहत भेला गर्दै विराट राजवंशी समुदाय

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिको आयोजनामा बुधबार १९औं बृहत भेलाको आयोजना गरिएको छ । विराट राजवंशी समुदायलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिवासी जनजातीमा सूचीकृत गर्नुपर्ने मुख्य माग राखेर लगातार संघर्षका कार्यक्रम गर्दै आएको समितिले भेला आयोजना गरेको हो । 

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले प्रत्येक बर्ष फागुन ६ मा राजवंशी समुदायले भेला गर्ने गरेको र यो भेलालाई पर्वकै रुपमा अघि बढाउने बताए ।

विगतमा खुल्ला स्थानमा बृहत भेला गर्दै आएको विराट राजवंशी समुदायले निर्वाचन आचारसंहिता लगायतका कारणले यो बर्षको भेला भने बिष्णुमाया पुस्तकालयको सभाहलमा गर्न लागेको जानकारी दिए ।

विराट राजवंशीको छुट्टै जातीय पहिचान, भाषिक, सांस्कृतिक सभ्यता र सम्पदाको पहिचान, संरक्षण, सम्वद्र्धन तथा अधिकारका लागि लड्दै आएको उनले बताए । भेलालाई आन्दोलनको अभियानका साथै, राजवंशी समुदायबीच आपसी प्रेम, सद्भाव, मिलन र एकताको प्रतीकका रूपमा आयोजना गरिएको उनले बताए । 

समितिले विराट राजवंशीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, कोशी प्रदेश सरकारबाट मूल आदिवासीका रूपमा मान्यता दिनुपर्ने र विराटनगरलाई ऐतिहासिक आधारमा ‘विराट राजवंशीको थलो’ घोषणा गर्नुपर्ने माग गर्दै आएको छ ।

त्यसैगरी, जातिको उत्थान, संरक्षण र आरक्षणको व्यवस्था गरी राजवंशी समुदायको प्रमुख बसोबास रहेका विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा लगायत स्थानीय तहलाई ‘विराट राजवंशी स्वायत्त परिषद्’ का रूपमा विकास गर्न माग गरेको छ । सरकारले प्रत्येक बर्ष बृहत भेलाको दिनलाई उक्त स्वायत्त क्षेत्रभित्र सार्वजनिक विदा दिनुपर्ने व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ ।

View : 235

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved