काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँगको रोमाञ्चक नतिजामा टुंग्याएको छ । टस जितेर युएईलाई १४१ रनको मध्यम लक्ष्य दिएको नेपालले अन्तिम ओभरमा युएईलाई नाटकीय रुपमा रोक्दै एक रनले जितेको हो ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा आइतबारको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दा विश्वकपको सहज यात्राको आधार तयार पार्न सफल भएको हो ।
नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।
युएईका लागि अलिशान सराफूले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रनको पारि खेले पनि जितका लागि त्यो पर्याप्त भएन ।
यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।
अन्तिम ओभरमा यूएईलाई जित्नका लागि १० रन आवश्यक थियो । तर बलिङमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए ।
त्यो ओभरमा नेपालले ३ विकेट लिँदै नाटकीय विजय हात पारेको हो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए ।
यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन जोडेका थिए ।
युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए ।
नेपालले दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ । कतारसँगको खेल जितेमा नेपाल आगामी बर्ष भारत र श्रीलंकामा हुने विश्वकप खेल्न लगभग तयार हुनेछ ।
View : 318
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved