Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले नेतृत्वको सरकारमा जाने कोशी कांग्रेसको निर्णय, मन्त्री छान्दा समावेशिता, भूगोल र कार्यक्षमतालाई प्राथमिकता

साउन २० अघि सरकार जाने सम्भावना कम छ: रायमाझी
१४ साउन २०८१, सोमवार

विराटनगर, १४ साउन । नेपाली काँग्रेस कोशी प्रदेश समितिको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । सोमबार विराटनगरस्थित प्रदेश समितिको कार्यालयमा बसेको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको जनाइएको छ ।

प्रदेश सरकारमा सहभागी हुनका लागि प्रदेश समितिले समेत निर्णय गर्नुपर्ने पार्टीको विधानको व्यवस्था अनुसार बैठकले औपचारिक रुपमा एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीले जानकारी दिए । 

उनले सरकारमा जानका लागि मन्त्रीहरूको नाम भने केन्द्रीय नेतृत्वसँग परामर्श गरेरमात्रै टुंगो लाग्ने बताए । सरकारमा जाने मन्त्रीहरू छान्दा लैंगिक, जातीय, भूगोल समेतको समावेशिता मिलाउनु पर्ने बैठकले निर्णय गरेको जानकारी दिए । बैठकको निर्णयलाई संसदीय दलभित्र निर्देशनका रुपमा पठाउने निर्णय गरेको समेत उपाध्यक्ष रायमाझीले बताए ।

‘बैठकले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी औपचारिक निर्णय गरेको छ’ उपाध्यक्ष रायमाझीले भने, ‘मन्त्रीहरू छान्दा दोहोरिन नहुने भनिएन, समावेशी हुनुपर्छ भनियो, लैंगिक हुनुपर्छ भनियो, भूगोल पनि मिलाउनु पर्छ भनियो ।’

उनले मन्त्रीहरूको नाम भने केन्द्रीय नेताहरूसँग छलफल गरेरमात्रै टुंगो लाग्ने बताए । उनले साउन २० गते यता मन्त्रीहरुको टुंगो नलाग्ने भएकोले त्यसपछि मात्रै सरकार जाने जानकारी दिए । कांग्रेसमा केन्द्रीय नेताहरूको मात्रै कुरा चल्ने भएकोले केन्द्रले नै टुंगो लगाउने बताए ।

‘मन्त्रीहरूको नाम त नेताहरूसँग परामर्श छलफल गरेर मात्रै टुंगो लाग्छ, आज भोलि नै हुँदैन,’ रायमाझीले भने, ‘गण्डकी र सुदूरपश्चिममा समस्या छ, त्यहाँ मिलेपछि बल्ल २० गतेपछि मात्रै कुरो अघि बढ्छ, आजै भोलि सरकारमा पठाउने नामबारे टुंगो लाग्दैन, किनभने काङ्ग्रेसमा कसरी निर्णय हुन्छ भन्ने सबैलाई थाहा छँदैछ ।’ 

प्रदेश सभा सदस्य एवं काँग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले भने मन्त्री छान्दा कार्यक्षमतालाई समेत प्राथमिकता दिनुपर्ने निर्णय भएको जानकारी दिए ।

उनले आजको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेकोले अब बल्ल मन्त्रीका आकांक्षीहरुबारे छलफल हुने बताए ।

View : 148

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved