Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नेपाली महिला क्रिकेट टोली नेदरल्याण्ड्ससँग पराजित

उद्‌घोष संवाददाता
८ माघ २०८२, बिहिवार

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो ।

यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अंक जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो ।

नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि इसाबेल भान डर वोनिङले तीन विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् । त्यस्तै स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् ।

नेपालका रुबिना क्षेत्रीले दुई विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एक/एक विकेट लिए ।

View : 53

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved