Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

घरेलु प्रदर्शनीमा सय बढी उत्पादन राखिने

ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गर्न लागिएको अध्यक्ष चेतन निरौलाले बताए । मोरङमा मात्रै घरेलु उद्योगहरुले तीन लाख जनालाई रोजगारी दिंदै आएका छन् ।
उद्‌घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्ने प्रदर्शनीमा सय भन्दा बढी घरेलु उत्पादनको राखिने भएको छ । 

आगामी शनिबार विराटनगरको कञ्चनजंघा बेङ्क्वेटमा हुने एकदिने प्रदर्शनीमा ब्यापार भनें गरिने छैन । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको प्रदर्शनीलाई अवलोकन गर्न कुनै शुल्क राखिएको छैन । प्रदर्शनीका लागि सबै तयारी पूरा भएको र जिल्लाभरीका ब्यवसायीले प्रदर्शनी गर्ने वस्तुको नाम सुचिकृत गरिसकेका छन् । 

महासंघ मोरङको २५ औं साधारणसभा तथा १२ औं जिल्ला अधिवेशनका क्रममा घरेलु उत्पादनहरुको प्रदर्शनी गरिने महासंघले जनाएको छ । जिल्ला भित्रमा साना उद्यामीका लघुउद्योग, महिला तथा कृषि, वैदेशिक रोजगारीबाट फर्केका युवाबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिने बताइएको छ ।

जिल्लाका उद्यमीका उत्पादनलाई प्रदर्शनीमार्फत उपभोक्तासम्म पुर्‍याउने महासंघले जनाएको छ । ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गर्न लागिएको अध्यक्ष चेतन निरौलाले बताए । मोरङमा मात्रै घरेलु उद्योगहरुले तीन लाख जनालाई रोजगारी दिंदै आएका छन् ।

मोरङका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु राखिने जिल्ला अध्यक्ष निरौलाले जानकारी दिए ।

प्रदर्शनीमा नर्सरी, अचार, जुत्ता चप्पल, ब्याग, चिया, भुजिया, कोशेली, हस्तकला, कृषि फर्म, मौरी पालन, ढाका कपडा, लघु उद्योग, बाँसको हस्तकला, अल्लो, जडिबुटी, छापाखानालगायत प्रदर्शनीमा रहने छन् । 

वरिष्ठ उपाध्यक्ष गोपाल काफ्लेका अनुसार प्रदर्शनीमा अगरबत्ती, खाद्य वश्तु, आमाको चिनो, मिथिला पेन्टिङ, कुटानी पिसानी मिलहरु पनि रहने छन् । देशभरका ९० हजार उद्यमी महासंघमा संगठित छन् । मोरङमा सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ ।

नेपालका साना उद्योगीका घरेलु उत्पादनको बजारलाई विदेशी उत्पादनले गम्भीर असर पारेकाले महासंघले अधिवेशनका क्रममा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

खुल्ला सीमानाका कारण भारतबाट अबैध बाटोबाट आउने सानातिना वस्तु तथा डाबर र पतञ्जली जस्ता बहुराष्ट्रिय कम्पनीले गर्ने साना उत्पादनले यहाँका ब्यवसायीको लगानीलाई जोखिममा पारेको छ ।

View : 645

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved