Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उद्घोष फलोअप: अधुरो छाडिएको राजाको नामको जेब्राक्रस बनाइयो

उद्‌घोष सम्वाददाता
१० माघ २०८०, बुधवार

विराटनगर । राजाका नाममा युवाहरुले लगानी गरेर अपुरो बनाएको सडकपार पथ (जेब्राक्रस) उद्घोष दैनिकले समाचार प्रकाशित गरेपछि पूरा भएको छ ।

उद्घोष दैनिकले मंगलबार राजाका नाममा अपुरो जेब्राक्रस शीर्षकमा समाचार प्रकाशित गरेपछि मंगलबारनै स्थानीयले अधुरो काम पूरा गरेका हुन् । नेपालको एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहका नाममा राजावादीहरुले अपुरो काम गरेर विराटनगरको सडकमा जनतालाई सोच्न बाध्य बनाएको समाचार प्रकाशन गरिएको थियो ।

पृथ्वी जयन्तीका अवसरमा एक समूहले विराटनगर ३ र ४ को सिमानामा पर्ने महानगर फ्रवेशद्वार स्थित कोशी राजमार्गमा जेब्राक्रस बनाएका थिए । मेटिएको जेब्रात्रसलाई नयाँपन दिन जेब्राक्रस बनाएको १० दिन बित्दापनि पूरा हुन सकेको थिएन । सडकको पूर्वपट्टि ६ र पश्चिममा ६ वटा स्टेप (फड्को) बनाइएकोमा बाँकी राजमार्गको मध्य भागमा १२ वटा स्टेप पनि बनाइएको छ ।

कुनै संघ संगठनले सो कार्य नगरेपनि स्थानीय युवाको पहलमा अपूरो काम भएको र समाचार सार्वजनिक भएपछि काम पूरा भएको स्थानीय ट्राफिक प्रहरीले बताएको छ । कतिपयले राजमार्गको जेब्राक्रसको काममा ट्राफिक प्रहरीले अनावश्यक चासो लिएको बताएका छन् । राजमार्गमा सडक बिभागले र भिक्री सडकमा स्थानीयतह वा अन्य संस्थाले जेब्रात्रस बनाउने गरेको छ ।

विराटनगर महानगर प्रवेश गर्ने मुख्यद्वार भएको स्थानमा स्थानीय राजधानी युवा क्लवले शौन्दर्यीकरण गर्ने तयारी गरेकै अवस्थामा पृथ्वी जयन्तीका नाममा अपुरो काम गरिएको बताउँंदै क्लवका अध्यक्ष राजु ढकालले समाचार सार्वजनिक भएपछि काम पूरा भएको बताए । उनका अनुसार क्लवले पनि जेब्राक्रससहित नेपालको राष्ट्रिय झण्डा १५ स्थानमा राख्ने तयारी गरेको छ ।

शनिबार क्लवसँग आवद्ध स्थानीयको सहभागितामा विराटनगर महानगर प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा राखेर शौन्दर्यीकरण गरिने उनले बताए । क्लवले सडकको वारपार जेब्राक्रस र दुबैतर्फ झण्डा लगाउने बताउंँदै अध्यक्ष ढकालले सडक किनारमा ड्राम राखेर झण्डासंँगै फूल रोपेर विराटनगर प्रवेश गर्ने पाहुनालाई स्वागत गरिने जानकारी दिए ।

View : 178

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved