अर्लिन्टन । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।
खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए ।
उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् । जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गरे ।
उनका अनुसार जापानी समाजमा कुनै स्थान प्रयोग गरेपछि त्यसलाई आफूले पाएको भन्दा अझ सफा बनाएर छोड्ने अभ्यास सामान्य मानिन्छ ।
विद्यालयमा शिक्षकको निर्देशनबिना नै कक्षाकोठा सफा गर्ने परम्परा पनि त्यही संस्कारको हिस्सा भएको उनको भनाइ छ ।
जापान आफ्नो लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ ।
खेलपछि एनएफएल क्वार्टरब्याक जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।
जापानी समर्थक फुटो हागिवाराले आफ्ना देशवासीहरूको व्यवहारले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा पहिचान पाएकोमा गर्व व्यक्त गरे ।
उनका अनुसार यो केवल व्यवहार मात्र नभई सांस्कृतिक र मानसिक अनुशासनको प्रतिबिम्ब हो, जसले जहाँ गए पनि आफ्नो वरिपरि सफा राख्ने जिम्मेवारी सम्झाउँछ ।
समाजशास्त्री तथा दार्शनिक मसाची ओसावाका अनुसार यस्तो व्यवहार सामाजिक जिम्मेवारी र समूहभित्रको दबाबको संयोजनबाट उत्पन्न हुन्छ ।
उनले जापानी समाजमा व्यक्तिगतभन्दा सामूहिक अनुशासनलाई बढी महत्त्व दिइने बताउँदै सानो स्तरका नैतिक व्यवहारप्रति अत्यन्त संवेदनशीलता देखिने उल्लेख गरे ।
जापानमा बाल्यकालदेखि नै सरसफाइ शिक्षामा जोड दिइन्छ । विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् ।
सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफैँ घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि त्यहाँ स्थापित छ ।
ओसाका विश्वविद्यालयका समाजशास्त्रका एमेरिटस प्राध्यापक स्कट नर्थका अनुसार जापानी समुदायहरूमा समूहगत कार्यशैली बलियो हुन्छ, जसको प्रभाव खेलमैदानमा देखिने समर्थकहरूको व्यवहारसँग मिल्दोजुल्दो छ ।
उनका अनुसार त्यहाँ नेतृत्व र अनुयायीबीचको समन्वय उच्च स्तरमा रहन्छ र समूह निर्णयलाई सबैले स्वीकार गर्ने संस्कार विकसित भएको छ ।
समाजशास्त्री ओसावाले यसलाई ‘अरूको व्यवहार बुझेर परिस्थितिअनुसार चल्ने’ संस्कारसँग जोड्दै कुनै एक व्यक्तिले फोहोर उठाउन थालेपछि अरूले पनि सहजै सहभागिता जनाउने सामाजिक मनोवृत्ति रहेको बताए ।
उनका अनुसार यस्तो व्यवहारमा मुख्य प्रेरणा व्यक्तिगत देखावटी नभई समूहभित्र नकारात्मक छाप नपरोस् भन्ने सामाजिक दबाब हुन्छ ।
जापानी समर्थकहरूका अनुसार यस्तो व्यवहार उनीहरूको दैनिकी संस्कारकै विस्तार हो । उनीहरू आगामी खेलहरूमा पनि यही अभ्यास कायम राख्ने बताउँछन् ।
जापानले शनिबार मेक्सिकोमा ट्युनिसियासँग खेल्ने तयारी गरिरहेको छ र समर्थकहरूले आफूहरू उदाहरणीय व्यवहारमार्फत विश्वलाई सन्देश दिने लक्ष्य राखेको बताएका छन् ।
“हामीले अरूलाई भन्नु भन्दा आफ्नै व्यवहार देखाउँछौँ र अरूले त्यसलाई पछ्याउँछन्”, समर्थक हागिवाराले भने । (रासस/एएफपी)
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved