विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ ।
सोमबार रंगेलीको एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा बनेको ‘साबित्रीको बाख्रो’ नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महोत्सवमा आयोजक र नौ विद्यालयका एक–एक गरी दश वटा नाटक मञ्चन भएका थिए ।
महोत्सवमा सहभागी भएका मध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रूपैयाँ’ले उत्कृष्ट नाटकको सम्मान पाएको छ । रंगकर्मीद्वय उद्धव सापकोटा र दीपा पोखरेलको निर्णायक टोलीले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गर्यो ।
यस्तै पूर्वाञ्चल स्कुलकै नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलको नाटक ‘बुद्धिमानी आमा’मा अभनिय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भए । विजेताहरूलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराजसिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्री लगायतले सम्मान र प्रमाणपत्र प्रदान गरेका थिए ।
View : 156
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved