Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी पहिरोमा परी कोशी प्रदेशमा १३ जनाको मृत्यु, ८ बेपत्ता

कोशीमा हालसम्म सबैभन्दा धेरै पहिरोले ज्यान लिएको छ । पहिरोको कहरमा परेर हिमाली जिल्ला सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाउँदा पाँचथरमा पनि पाँचै जनाको मृत्यु भएको छ । पहिरोमै परेर धनकुटामा दुई जनाले ज्यान गुमाउँदा इलाममा बाढीले एक जनाको मृत्यु भएको छ ।
उद्घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । बाढीपहिरोको कहरले शनिबार रातिसम्ममा कोशी प्रदेशमा १३ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् । बेपत्ताहरुको अहिलेसम्म न खोजी हुन सकेको छ, न सम्पर्कमै आएका छन् । 

कोशीमा हालसम्म सबैभन्दा धेरै पहिरोले ज्यान लिएको छ । पहिरोको कहरमा परेर हिमाली जिल्ला सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाउँदा पाँचथरमा पनि पाँचै जनाको मृत्यु भएको छ । पहिरोमै परेर धनकुटामा दुई जनाले ज्यान गुमाउँदा इलाममा बाढीले एक जनाको मृत्यु भएको छ । 

हिमाली जिल्ला सोलुखुम्बुमा पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको पहिचान खुल्न सकेको छैन । सोलुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–१० का दुई जनाको पहिरोले ज्यान लिएको थियो भने अपरान्ह सोही नगरको वडा नम्बर ९ को छेवाडाँडा भन्ने ठाउँमा तीन जनाको मृत्यु भएको छ । 

‘पहिरोले तीन जनाको ज्यान गएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको छ, प्रहरी नपुगेसम्म नाम वतन भन्न मुस्किल छ’ शनिबार राति गिरीले भने ।

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिंदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको वडाध्यक्ष होमबहादुर मगरले जानकारी दिए । 

पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएको उनले बताए । घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए । घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तरमा पर्छ । सडकका ठाउँठाउँमा पहिरो खसेर अवरूद्ध हुँदा शव  पोष्टमर्टमका लागिसमेत लैजान नपाइएको उनले बताए ।   

लगातारको झरीले फरक–फरक ठाउँमा पहिरो जाँदा पाँचथरमा पाँच जनाको मृत्यु भएको हो ।

 फिदिम–१२ घर भएर फिदिम–४ मा बस्दै आएकी २४ वर्षकी सपना शेर्पा र उनकी ५ वर्षे छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यसैगरी, फिदिम–८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राई र फिदिम–१ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार उनीहरू आमाछोरा त्यहाँ पाहुना आएका थिए ।

‘उहाँहरूको घर अर्को वडामा रहेछ, फिदिम नगरपालिका–४ चिसापानी स्थित फुर्लु शेर्पाको घरमा पाहुना आउनुभएको रहेछ’, दाहालले भने, ‘उहाँहरू आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो ।’ मृतक रञ्जना राईका छोरा बिपीन राई घाइते भएका छन् । जिल्ला अस्पताल पाँचथरमा उनको उपचार भइरहेको छ । 

शनिबार बिहान पाँचथरको फिदिम–१ साँगेबोटमा रहेको राजकुमार नेम्वाङको घर पहिरोले बगाउँदा सो घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा जलविद्युत आयोजनाका कर्मचारी फिदिम–१ का ५० वर्षे गोपी विश्वकर्माको मृत्यु भएको प्रहरीको भनाइ छ । 

पहिरोले जलविद्युत आयोजनाकै कर्मचारी फिदिम–१ का ५१ वर्षीय कृष्ण दास र उनको ४२ वर्षीय श्रीमती कमला दास, फिदिम–१ का ५५ वर्षका धनकुमार तुम्वापो र फिदिम–१ की २१ वर्षीया सरस्वती तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन् । 

यसैगरी धनकुटाको पाख्रीबास नगरपालिका–५ गुराँसे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घर माथिबाट पहिरो झर्दा पुरेर उनकी ३२ वर्षीया पत्नी आशा तामाङ र सासूआमा ५० वर्षीया  रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मिनमाया तामाङको उपचार भइरहेको छ । 

यसैगरी छथरजोरपाटी गाउँपालिका–२ का चन्द्रबहादुर मगरको घरमा पहिरो खस्दा उनकी २० वर्षकी छोरी सिर्जना मगर घाइते भएकी छन् ।  

त्यसैगरी इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन् । 

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ । 

यसैगरी गौरीगञ्ज गाउँपालिका–२ र ३ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति भने हामफालेर बेपत्ता भएका छन् ।

शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी ५० वर्षका केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजीमा समस्या भएको छ । 

नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी स्थानीय पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । 

खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार असोज १० गतेदेखि  मोरङको रतुवामाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रतुवा खोला तर्दा बेपत्ता बनेकी छन् । 

View : 173

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved