पूवि उपकुलपति कोइरालाको कार्यकाल शुक्रबार सकिंदै
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को उपकुलपतिमा त्यहीं कार्यरत प्राध्यापकलाई नेतृत्व दिनु पर्ने पूवि प्राध्यापक संघले माग गरेको छ ।
पूवि प्राध्यापक संघले एक ध्यानाकर्षणपत्र मार्फत प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाललाई पूविको रिक्त उपकुलपतिमा आएका पर्यटकरुपी बाह्य व्यक्तिहरुले तहसनहस पारेकोले पूवि भित्रैकै सक्षम प्राध्यापकहरुबाट नियुक्त गर्न अनुरोध गरेको छ ।
संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेल र महासचिव प्रमोदकुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू नै विश्वविद्यालयको नेतृत्व गर्न सक्षम रहेको र वर्तमान तथा तत्कालिन अवस्थामा पर्यटकरूपी वाह्य व्यक्तिहरूले तहसनहस पारेको यो विश्वविद्यालयलाई प्राज्ञिक विशिष्टताको रूपमा विकास गर्न विश्वविद्यालयमा कार्यरत सक्षम प्राध्यापकहरू मध्येबाट रिक्त हुन गइरहेको उपकुलपति पदमा नियुक्त गर्न सम्माननीय प्रधानमन्त्री तथा यस पूर्वाञ्चल विश्वविद्यालयका कुलपतिज्यू समक्ष पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति हार्दिकतापूर्वक ध्यानाकर्षणको साथै जानकारीका लागि विनम्र अनुरोध गर्दछ ।’
हालका उपकुलपति फ्राडा यादवराज कोइरालाको शुक्रबारबाट नै कार्यकाल सकिदै छ । सो रित्त पदमा नेपाल सरकारद्वारा खुला प्रतिस्पर्धाबाट गरिएको उपकुलपति छनोट प्रक्रियाका लागि गरिएको आह्वानमा १८ जनाले आवेदन दिएका छन् ।
सो कार्यलाई संघले स्वागत गर्दै भनेको छ– ‘नेपाल सरकारद्वारा खुल्ला प्रतिस्पर्धाबाट गरिएको उपकुलपति छनोट प्रक्रियालाई स्वागत गर्दछ ।’
ध्यानाकर्षण गर्दै अगाडि भनिएको छ, ‘स्थापनाकालमा संस्थापक उपकुलपतिका रूपमा यस विश्वविद्यालयले विराटनगरको स्थानीय प्राध्यापकलाई प्राप्त गरे पश्चातका पछिल्ला वर्षहरूमा विशेष गरी यस विश्वविद्यालय भन्दा वाहिरका प्राध्यापकहरूलाई उपकुलपतिमा नियुक्ति हुँदा निजहरूले पूर्णकालिन रूपमा विश्वविद्यालयमा समय नदिने, बारम्बार भ्रमणमा गई विश्वविद्यालयको प्राज्ञिक विशिष्टता हासिल गर्ने दिशामा कुनै काम नगर्ने, छोटो समय विश्वविद्यालयमा बस्ने र अनावश्यक छलफलमा समय व्यतित गर्ने, ऐन तथा विनियमको साथै विश्वविद्यालय सभा समेतलाई पाखा लगाई पहुंचको आधारमा आफ्नालाई खुशी पार्न संकाय तथा क्याम्पस टुक्रयाई पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयकाको अनावश्यक खर्च बढाउने गरेको, परिणाममुखी कार्य गर्नमा कुनै चासो नदिने जस्ता गैर जिम्मेवार कार्यहरूबाट विश्वविद्यालयको उन्नति र प्रगतिमा कुनै टेवा नपुगेको दुखद यथार्थरुपी नियति यस विश्वविद्यालयले भोगिरहेको छ ।’
सो ध्यानाकर्षणपत्रमा पूविमा कार्यरत उपकुलपति हुँदा राम्रो हुने जिकिर गर्दै भनिएको छ, ‘विभिन्न परिस्थितिजन्य कारणहरूले गर्दा छोटो समय (एक वर्ष भन्दा कम अवधि) का लागि उपकुलपतिको रूपमा कार्य गर्ने अवसर प्राप्त गर्नु भएका विश्वविद्यालय भित्रका दुई प्राध्यापकहरुको छोटो कार्यकाल आफैमा अविस्मरणीय रहेको छ । यसबाट पुष्टि हुन्छ कि यहाँ कार्यरत प्राध्यापकहरू विश्वविद्यालयको नेतृत्व लिएर कुशलता र विशिष्टतापूर्वक विश्वविद्यालय हाक्न सक्षम छन् ।’
पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकद्वय डा शिरिष रिजाल र डा बिजु थपलिया छोटो समयका लागि उपकुलपति भएका थिए ।
View : 529
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved