Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

अकल्पनीय घटना भयो, न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कार्यकर्ता भेलामा बोल्ने दुई दर्जन नेता कार्यकर्ताबीच पार्टी केन्द्रीय सदस्य जीवन घिमिरेले भदौ २४ गते जेनजी समुहको प्रदर्शनका क्रममा घर तोडफोड गरी भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि पदबाट दिएको राजिनामाका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि केहिबेर नेता कार्यकर्ताहरुबीच वादविवाद समेत चलेको थियो ।
उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिमत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् । 

मंगलबार नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुखद घटना भएको बताए । उनले घटनाको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

जेनजीको आवरणमा भएको षड्यन्त्रमूलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै कार्कीले यसका विविध पाटोहरू बिस्तारै पटाक्षेप हुने बताए ।

एकले अर्कोको विरुद्ध प्रयोग गर्दा देशको सार्वभौम सत्ता नै संकटमा पर्ने गरी परिस्थिति सिर्जना भएको उल्लेख गर्दै कार्कीले अहिलेको अवस्थामा जजसले यो घटना घटाएका छन् उनीहरुले देशको सार्वभौमसत्तामाथि नै खतरा पैदा गरेको धारणा राखेका हुन् । 

नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा उनले यसका विषयमा पनि छलफल हुने र नेकपा एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने स्पष्ट पारेका छन् । 

संकटको बेला नेतृत्वमाथि विभिन्न कोणमा प्रहार भइरहेको उनले गर्दै यतिखेर नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने र विधि र प्रक्रियामा नेतृत्व परिवर्तन हुने उल्लेख गरे । 

नेपाली कांग्रेस र एमालेप्रति अहिले बढी प्रहार भएको र त्यही अनुसार छानीछानी आक्रमण भएको उनले गर्दै एमाले नेता समेत रहेका मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अहिलेको सरकार संविधान विपरीत गठन भएको एमालेको ठहर रहेपनि चुनावबाट एमालेपछि नहट्ने उनले स्पष्ट पारे ।

भदौ २३ गतेको घटनापछि पहिलोपटक कोशी प्रदेशमा नेकपा एमालेले भौतिक रुपमा कार्यकर्ता उपस्थित गरेर अगुवा कार्यकर्ता भेला गरेको हो ।

सो बेलामा करिब ५०० जना कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै एमालेका नेता विनोद ढकालले देशी विदेशी शक्तिहरूका कारण अहिलेको घटना भएको बताए ।

उनले यो घटनालाई गम्भीर रूपमा लिएर पार्टी अगाडि बढ्नुपर्ने चर्चा गर्दै अहिले नेतृत्वलाई आलोचना होइन नेतृत्व र कार्यकर्ताको संरक्षण गर्दै सार्वभौम सत्ता जोगाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याएँ ।

नेतृत्व परिवर्तन को विषयमा यावत प्रश्नहरु भएपनि यो वैधानिक प्रक्रियाबाट हल हुने र जेन जेड हरूको माग अनुसार नै पार्टीलाई रूपान्तरण गरेर लैजाने ढकालले बताए ।

कार्यकर्ता भेलामा बोल्ने दुई दर्जन नेता कार्यकर्ताबीच पार्टी केन्द्रीय सदस्य जीवन घिमिरेले भदौ २४ गते जेनजी समुहको प्रदर्शनका क्रममा घर तोडफोड गरी भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि पदबाट दिएको राजिनामाका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि केहिबेर नेता कार्यकर्ताहरुबीच वादविवाद समेत चलेको थियो ।

घिमिरेले अवस्था गम्भिर बनेर आफुलाई चर्को दवाव आएपछि जिउज्यान जोगाउनै लागि राजिनामा दिनु परेको प्रष्टिकरण दिएका थिए ।

तर एमालेका केही नेता कार्यकर्ताहरुले भने अप्ठेरो अवस्था आएकै कारण जिम्मेवार नेताले राजिनामा दिएर उम्किनु गैरजिम्मेवारीपूर्ण कार्य भएको आरोप लगाए । उक्त आरोपपछि मोरङ जिल्ला इन्चार्ज समेत रहेका नेता घिमिरेले निक्कै भावुक देखिएका थिए ।

एमाले मोरङ जिल्ला अध्यक्ष अजम्बर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, युवराज बास्कोटा, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले आफ्ना धारणा राखेका थिए । 

View : 560

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved