Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

तालाबन्दीले पूवि प्राध्यापक संघको सभाको स्थान परिवर्तन

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) डीन कार्यालय पुष्पलालचोकमा लगाइएको तालाका कारण पूर्वनिर्धारित प्राध्यापक संघको साधारण सभाको स्थान परिवर्तन गरिएको छ । 

डीन कार्यालयको परिसरमा जारि तालाबन्दीका कारण बिहीबार तय गरिएको साधारण सभा अब  पूविकै विज्ञान तथा प्रविधि (पुस्याट–पुसोई) कलेजको सभाहलमा हुने भएको छ ।

पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेलले बुधबार एक सूचना जारी गर्दै साधारणसभाको स्थान परिवर्तनको जानकारी दिएका हुन् । 

‘पूवि प्राध्यापक संघको साधारणसभा संकाय डिनको कार्यालय पुष्पलाल चोक विराटनगरको सभाहलमा तोकिएकोमा विशेष कारणवस पुस्याट–पुसोईको सभाहलमा निर्धारित समय तालिका बमोजिम हुने व्यहोरा सम्पूर्ण प्राध्यापक वर्गमा जानकारी साथ उपस्थितिका लागि अनुरोध गर्दछु,’ सूचनामा उल्लेख छ ।

संघको सूचनामा ‘तालाबन्दी’ शब्द उल्लेख नगरी ’विशेष कारणवस’ मात्र भनिए पनि डीन कार्यालयमा जारी तालाबन्दी नै स्थान परिवर्तनको मुख्य कारण रहेको स्पष्ट छ ।

डीन कार्यालय परिसरको मूल प्रवेशद्वारमा आइतबारदेखि र डीन भवनको प्रवेशद्वारमा सोमबारदेखि निरन्तर ताला लगाइएको छ । 

चारवटा डीन कार्यालयमध्ये कला, कानुन तथा शिक्षा संकाय र विज्ञान तथा प्रविधि संकायलाई पूवि केन्द्रीय कार्यालय गोठगाउँमा सार्ने भएपछि ’स्थानीय सरोकार समाज’ भन्दै आएका समूहले तालाबन्दी गरेका थिए । 

तालाबन्दीमा स्थानीय नेपाली कांग्रेस निकट नेताहरूको सहभागिता देखिएको जनाइएको छ ।

View : 404

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved