अपडेट
विराटनगर । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार अपरान्ह अचानक आएको बाढीले ठुलो क्षति भएको छ । त्यहाँ हिमताल फुटेको आशंका गरिएए पनि यकिन हुन सकेको छैन ।
बाढीले थामेका आधाभन्दा बढि घरहरू बगाएको र अरु धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ । थामे गाउँका धेरै घर लेदो सहितको बाढीले पुरिएको र घरहरू बगाएको छ ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिइन् । उनले घटनाको सवै विवरण प्राप्त नसकेको बताइन् ।
भीषण बाढी थामे गाउँ पसेपछि त्यहाँका घर र होटलमा रहेका मानिसहरू भागेर डाँडातिर गएको जनाइएको छ । प्रजिअ पाण्डेले मानवीय क्षति भएको खबर प्राप्त नभएको बताइन् ।
उनले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको पनि बताइन् ।
अहिले दूधकोशी नदीमा भीषण बाढी देखिएको छ । बाढी आएपछि दुधकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाइएको छ । तटीय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।
View : 159
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved