विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते विराटनगरमा मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा तत्कालिन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरुण साह सोनारलाई पनि प्रहरीले आइतबार नै पक्राउ गरेको हो ।
अन्सारी आगजनीमा संलग्न भई रहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए । घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए । तर राजनीतिक आडमा उनी मोदीकै अघिपछि देखिंदै आएका थिए ।
अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाली प्रहरीको टोपी लगाएर उल्लास मनाएका थिए । तोडफोड र आगजनीमा उनको संलग्नता पुष्टि हुने गरीका फोटो र भिडियोहरु सामाजिक संजालमै सार्वजनिक भएका थिए ।
स्वकीय सचिव रहेर सरकारी तलब पाइरहेका बेला उनी जिल्ला प्रशासन कार्यालय मोरङ र अदालतमा आगजनी गर्न प्रत्यक्ष संलग्न भएका थिए ।
आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।
अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ ।
यसअघि मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् ।
सरकारी र व्यक्तिका घरमा आगजनी तथा लुटपाट गर्ने कोही पनि नछुट्ने प्रहरी स्रोतको दाबी छ ।
हाल नेपाली कम्युनिष्ट पार्टीमा रहेका अन्सारी सोमबार विराटनगरमा हुने पार्टीको सभाका लागि आर्थिक संकलनको जिम्मेवारीमा समेत रहेको स्रोतको दाबी छ । उनले विराटनगरका विभिन्न निजी शैक्षिक संस्थामा चन्दा माग्दै पत्र बुझाउँदै हिंडेका थिए ।
अन्सारी पक्राउ परेको जानकारी पाएको बताउँदै नेकपाका एक नेताले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने बताए । उनले आन्दोलनकारीका नाममा तत्कालिन माओवादीका नेताको निजी घरमा समेत आगजनी भएकोले कारवाहीको दायरामा ल्याउन माग गरे ।
View : 746
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved