Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चेतना प्रतिष्ठानद्वारा विभिन्न्न पुरस्कार घोषणा

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

फाइल फोटो

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । 

प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो । 

घोषित पुरस्कार अनुसार अञ्जु कार्कीद्वारा स्थापित दुई लाख रूपैयाँ राशीको जगतबन्धु–अञ्जु कार्की चेतना विशेष सम्मान कलाश्री विनोद खनाल (बटियामारी, असम) लाई प्रदान गरिने निर्णय भएको छ ।

त्यसैगरी हरिभक्त, खगेन्द्र र दिनेश सिटौलाद्वारा आफ्ना बुवा–आमाको सम्झनामा स्थापित एक लाख रूपैयाँ राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर) लाई समर्पण गरिने भएको छ ।

गंगा सुवेदीद्वारा स्थापित ५१ हजार रूपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललितकला चेतना सम्मान ललितकला क्षेत्रमा योगदान पु¥याएका कलाकार मुकेश मल्ल (काठमाडौं) लाइ दिइने छ ।

समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको सम्झनामा स्थापित ५१ हजार रूपैयाँसहितको ओमप्रकाश गोयल समाजसेवा सम्मान सामाजिक अभियन्ता डा. ओममूर्ति अनिल (महोत्तरी) लाई प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

धार्मिक तथा मानवीय सेवाका क्षेत्रमा क्रियाशील परमार्थ सिंघिया आरती तथा धार्मिक जागरण, विराटनगर (मोरङ) लाई समाजसेवी देवेनरा मुन्दडा परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी सनातन मानवीय धर्म–संस्कृति सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी साहित्यकार सरला चापागाईंले स्थापना गरेको ५१ हजार रूपैयाँ राशिको डा. नरेन्द्र–भवानीशंकर–योगमाया चापागाईं युवाप्रतिभा चेतना सम्मान युवा प्रतिभा एञ्जिला तुम्बापो सुब्बालाई समर्पण गरिनेछ ।

दिनेश सुवेदीद्वारा आफ्नो भाइको सम्झनामा स्थापित ५१ हजार रूपैयाँ राशिको नरेश सुवेदी पत्रकारिता चेतना सम्मान पत्रकार मातृका पौडेल (रामेछाप) लाई प्रदान गरिने भएको छ । 

त्यसैगरी मञ्जु सत्यालद्वारा स्थापित २१ हजार रूपैयाँ राशिको केदारनाथ–मञ्जु सत्याल बालप्रतिभा चेतना सम्मान मोरङका बालप्रतिभा बबिता राजवंशी र मिसराना खातुनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताइन् ।

घोषित पुरस्कार यही माघ २४ गते शनिबार विराटनगरमा विशेष  समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

View : 237

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved