विराटनगर । चट्याङले लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो ।
गएराति करीव साढे ११ बजेतिर प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।
चट्याङ लागेर घाइते भएका माझीलाई अन्य प्रहरीले नजिकैको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि मध्यरातमा जिल्ला अस्पताल पाँचथर पुर्याएका थिए ।
चिकित्सकले राति करीव १२ बजेतिर माझीलाई मृत घोषित गरेको सुचना अधिकारी कुशवाहाले बताए ।
मोरङको ग्रामथान गाउँपालिका–४ का ३५ वर्षीय सहायक हवल्दार माझीलाई साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएका प्रहरी चौकीकै ढोकामा उभिएरहेको बेला चट्याङ लागेको जनाइएको छ ।
उनी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
View : 273
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved